नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । नारायणी नदीमा पानीको बहाव बढेसँगै पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा निर्माण गरिएको अस्थायी बाँध कटान हुन थालेपछि स्थानीयवासी चिन्तित बनेका छन्।

बस्तीमा नदीको पानी पस्न नदिन स्थानीयले एक सातादेखि बालुवाका बोरा, तारजाली, माटो तथा खरपात प्रयोग गरी अस्थायी तटबन्ध निर्माण गर्दै आएका थिए। तर, पछिल्लो समय नदीको बहाव उच्च भएपछि बाँधमै कटान सुरु भएको ‘सुस्ता बचाउ अभियान’का प्रवक्ता रवीन्द्र जैसवालले बताए।

उनका अनुसार नदीको कटान रोक्न स्थानीय आफैं परिचालित भए पनि लगातारको पानीको बहावका कारण जोखिम कायमै छ।

सुस्ताको दीर्घकालीन सुरक्षाका लागि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुरले पहिलो चरणमा करिब एक किलोमिटर तटबन्ध निर्माण गरेको छ। उक्त काममा रु ११ करोड ५० लाख खर्च भएको आयोजनाका इन्जिनियर बेलबहादुर विश्वकर्माले जानकारी दिए।

आयोजनाले पहिलो चरणको तटबन्धसँग जोडेर थप १३२ मिटर तटबन्ध निर्माण गर्ने योजना बनाएको छ। त्यसका लागि रु १ करोड ४६ लाख बजेट छुट्याइएको छ।

इन्जिनियर विश्वकर्माका अनुसार दीर्घकालीन रूपमा तटबन्ध निर्माण हुन नसक्दा सुस्तामा हरेक वर्ष नदी कटान र डुबानको जोखिम दोहोरिँदै आएको छ। अहिले पनि नारायणी नदीले बस्ती आसपासको क्षेत्रमा कटान जारी राखेको उनले बताए।

प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com