काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ राजनीतिक शक्तिलाई मत दिएका सर्वसाधारण नै अहिले सबैभन्दा बढी असुरक्षित र आतङ्कित अवस्थामा रहेको दाबी गरेका छन्।
शनिबार आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै लिङदेनले विगत ३५ वर्ष सत्तामा रहेका दलहरूप्रतिको जनआक्रोश र नयाँ शक्तिप्रतिको आशाका कारण जनताले नयाँ विकल्प रोजेको भए पनि छोटो समयमै मुलुक निराशातर्फ धकेलिएको टिप्पणी गरे।
उनले मुलुकमा महँगी र कृत्रिम अभाव बढ्दै गएको तथा निजी क्षेत्रसमेत निराश बनेको बताए। नयाँ सरकारबाट परिवर्तन र सुधारको अपेक्षा गरेका आम नागरिक अहिले झन् असुरक्षित महसुस गर्न बाध्य भएको उनको दाबी थियो।
‘दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने र बालबच्चाको भविष्य सुरक्षित हुने आशाले नयाँलाई मत दिएका आम सर्वसाधारण अहिले सबैभन्दा बढी असुरक्षित र आतङ्कित भएका छन्,’ लिङदेनले भने।
उनले मुलुक गम्भीर भू–राजनीतिक चक्रव्यूहमा फस्दै गएको दाबी गर्दै यस्तो परिस्थितिबारे पर्याप्त बहस हुन नसकेको बताए। निजी क्षेत्र निराश रहेको र बजारमा महँगी तथा कृत्रिम अभाव बढिरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।
लिङदेनले देश र जनतालाई वर्तमान संकटबाट जोगाउने जिम्मेवारी राप्रपाको काँधमा आएको बताए। ‘हामी छौँ, राप्रपा छ’ भन्ने विश्वासका साथ पार्टी जनताको पक्षमा उभिनुपर्ने उनको भनाइ थियो।
देशलाई संकटबाट मुक्त गर्न राप्रपा नयाँ सोच र दृष्टिकोणसहित थप बलियो भएर जनतामाझ जानुपर्ने उल्लेख गर्दै उनले जारी पार्टी अधिवेशनहरूलाई संगठन सुदृढीकरण र आगामी राजनीतिक अभियानको तयारीका रूपमा उपयोग गर्न नेता–कार्यकर्तालाई आह्वान गरे।
प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार












प्रतिक्रिया