काठमाडौं । प्रतिनिधिसभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ बहुमतले पारित गरेको छ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित उक्त विधेयक पारित गरेको हो।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकको दफा २ मा रहेको ‘साविकको व्यवस्था जगाउने सम्बन्धी व्यवस्था’ निर्णयार्थ प्रस्तुत गरेका थिए। उक्त दफाको पक्षमा बहुमत सांसदले ‘हुन्छ’ भन्ने ध्वनि मत दिएपछि सभामुख अर्यालले विधेयक पारित भएको घोषणा गरे।
यसअघि राज्य व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि भएको दफावार छलफलका क्रममा कुनै पनि संशोधन प्रस्ताव दर्ता नभएको जानकारी सभामुखले सदनलाई गराएका थिए। त्यसैले समितिको प्रतिवेदनमाथि थप निर्णय गराउन आवश्यक नपरेको उनले स्पष्ट पारे।
विधेयक पारित गर्नुअघि सभामुख अर्यालले यसको प्रस्तावना र नामसमेत निर्णयार्थ प्रस्तुत गरेका थिए।
विधेयक पारित भएसँगै राष्ट्रिय सुरक्षा तथा गुप्तचरी निकायसँग सम्बन्धित नेपाल विशेष सेवा ऐन, २०४२ का केही साविक कानुनी व्यवस्था पुनः कार्यान्वयनमा आउने बाटो खुलेको छ।
सरकारले राष्ट्रिय सुरक्षा, सूचना संकलन तथा गुप्तचरीसम्बन्धी कामलाई थप प्रभावकारी बनाउन पुराना कानुनी व्यवस्थालाई पुनर्जीवित गर्न आवश्यक रहेको भन्दै उक्त विधेयक ल्याएको थियो।
विधेयकले विशेष सेवा तथा गुप्तचरीसम्बन्धी कानुनी संरचनालाई पुनः सक्रिय बनाउँदै राष्ट्रिय सुरक्षा र सूचनाको व्यवस्थापनलाई थप व्यवस्थित गर्ने सरकारको दाबी छ।
प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार













प्रतिक्रिया