काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमा पछिल्लो समय राजनीतिक परिपक्वता देखिँदै गएको बताएका छन्।

वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार लामो समय टिक्न नसक्ने दाबी गर्दै प्रचण्डले लामिछानेको पछिल्लो राजनीतिक सक्रियता र भूमिकाको प्रशंसा गरेका हुन्।

सोमबार सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा संसदीय विषयमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले रास्वपाका केही नेतासँग आफ्नो नियमित संवाद हुने गरेको बताए।

२०७९ सालको निर्वाचनपछि आफ्नै नेतृत्वमा सरकार गठन हुँदा लामिछाने उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारीमा रहेको स्मरण गर्दै प्रचण्डले लामिछाने, सभामुख डोलप्रसाद अर्याल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग आफू परिचित रहेको बताए।

‘पार्टीको नेतृत्व अथवा रवि लामिछाने, सभामुख डीपी अर्याल, विराजभक्त भट्ट सबै मेरो क्याबिनेटमा बसेका साथीहरू हुनुको नाताले मलाई उहाँहरूलाई बुझ्न गाह्रो छैन। उहाँहरूलाई भन्न पनि गाह्रो छैन। मेरो संवाद चाहिँ नियमित नै भइराखेको छ,’ उनले भने।

लामिछानेको राजनीतिक व्यवहार प्रधानमन्त्री शाहको तुलनामा परिपक्व देखिएको उनको टिप्पणी थियो।

‘कम्पेरेटिभ्ली पोलिटिकल मेच्योरिटी रविमै रहेछ भन्ने त सबैले महसुस गरेकै कुरा हो,’ प्रचण्डले भने।

प्रचण्डले सुनसरीमा देखिएको हिन्दू–मुस्लिम विवाद समाधानका लागि लामिछानेले विभिन्न राजनीतिक दलसँग गरेको संवादको खुलेर प्रशंसा गरे।

उनले राजनीतिक समस्याको समाधान संवाद र छलफलबाट खोज्नुपर्ने भन्दै त्यसका लागि नेतृत्वले सबै पक्षसँग समन्वय गर्नुपर्ने धारणा राखे।

प्रधानमन्त्री शाहको कार्यशैलीप्रति भने प्रचण्डले असन्तुष्टि व्यक्त गरे। यसअघि संसद्बाटै सरकारको कार्यशैलीको आलोचना गरेको स्मरण गराउँदै उनले प्रधानमन्त्रीले आफ्नो शैली परिवर्तन गर्न र अनुभवी व्यक्तिहरूसँग सुझाव लिनुपर्ने बताए।

प्रचण्डले लामिछानेमाथि विभिन्न आरोप लागेका बेला आफूले सार्वजनिक रूपमा उनको पक्षमा बोलेको स्मरण गर्दै लामिछानेले आफूले गरेको सहयोगको गुन तिर्न बाँकी रहेको टिप्पणीसमेत गरे।

‘रवीजीले मलाई गुन तिर्नुपर्नेछ। उहाँका लागि मैले धेरै डिफेन्स गरेको छु नि। पहिलाको संसद्मा, पब्लिकमा। जेलमा गएर भेटेको छु। बाहिर आएर पत्रकारहरूको बीचमा बोलेको छु,’ उनले भने, ‘यो सबै गुन तिर्नु छ। बिर्सिनुभएको छैन।’

लामिछानेमाथि सहकारी ठगीको आरोप लाग्दा आफूले सार्वजनिक रूपमा प्रतिवाद गरेको तथा उनीसँग जेलमै पुगेर भेटेको प्रचण्डले बताए।

प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति भने कडा टिप्पणी गरे।

सरकार स्पष्ट दृष्टिकोण, योजना र दिशाबिना अघि बढिरहेको आरोप लगाउँदै उनले वर्तमान सरकारलाई समुद्रमा कम्पास हराएको जहाजसँग तुलना गरे।

‘सरकार समुद्रमा कम्पास हराएको जहाजजस्तै दिशाहीन भएको छ। कुनै दृष्टिकोण, योजना छैन। सरकार र रास्वपा नेतृत्वबीच खटपट बढेको देखिन्छ। यो सरकार धेरै लामो समय जाँदैन,’ प्रचण्डले भने।

सरकार दिशाहीन भएकाले दुर्घटनाको नजिक पुगेको उनको दाबी थियो।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com