काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले तत्काल परिणाम देखिनेभन्दा दीर्घकालीन प्रभाव पार्ने कामलाई प्राथमिकता दिइरहेको बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै लामिछानेले सरकार गठन भएको चार महिना बितिसक्दा तत्काल देखिने उपलब्धि कम देखिए पनि आगामी १५ देखि २० वर्षका लागि बलियो आधार तयार गर्ने काम भइरहेको दाबी गरे।

उनले भने, ‘चार महिनामा तत्काल देखिने काम भएन कि जस्तो लाग्न सक्छ। तर, हामी आगामी १५–२० वर्षका लागि बलियो जग खन्ने काम गरिरहेका छौँ।’

लामिछानेले संसद्मा युवाको उल्लेख्य सहभागिता र ३५–३६ वर्षकै उमेरमा युवा प्रधानमन्त्री बन्नु नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण उपलब्धि भएको बताए।

रास्वपा अरू कसैलाई विकल्पका रूपमा खोज्नेभन्दा आफैँ वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्देश्यका साथ अघि बढिरहेको उनको भनाइ थियो। उनले पार्टीको लक्ष्य भविष्यमा ‘निर्विकल्प शक्ति’ का रूपमा स्थापित हुने रहेको बताए।

युवा सांसद तथा मन्त्रीहरूले पदमा रमाउनेभन्दा जिम्मेवारीअनुसार परिणाममुखी काम गर्नुपर्नेमा पनि लामिछानेले जोड दिए। अहिलेको नेतृत्वले प्राप्त अवसरलाई उपलब्धिमा बदल्न नसके युवाको राजनीतिक क्षमतामाथि नै प्रश्न उठ्ने उनको भनाइ थियो।

‘युवा नेतृत्वले सफलता हासिल गर्न सकेन र जिम्मेवारीबाट पन्छियो भने भोलि अनुभवहीन युवाबाट राजनीति सम्भव छैन भन्ने भाष्य निर्माण हुन सक्छ,’ उनले भने।

त्यसैले युवा नेतृत्वले गम्भीर भएर काम गर्दै आफूलाई प्रमाणित गर्नुपर्ने लामिछानेले बताए।

प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com