काठमाडौं । गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा–काठमाडौँ सम्पर्क विभागले आयोजना गरेको कार्यक्रम बीचमै छाडेर बाहिरिएका छन् ।
शनिबार काठमाडौँको नयाँ बजारमा आयोजित कार्यक्रममा वक्ताहरूको सङ्ख्या धेरै भएपछि गुरुङ कार्यव्यस्तता देखाउँदै कार्यक्रम नसकिँदै बाहिरिएका हुन् ।
कार्यक्रम चलिरहेकै बेला गृहमन्त्री बाहिरिएपछि आयोजक केही समय अलमलमा परेका थिए । कार्यक्रमस्थलबाट बाहिरिने क्रममा भने उनले आफ्नो निर्वाचन क्षेत्र गोरखाको विकास र दुर्गम क्षेत्रका नागरिकले भोग्दै आएका समस्याबारे प्रतिक्रिया दिएका थिए ।
गुरुङले भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण हिमाली तथा दुर्गम क्षेत्रका नागरिकले अनेकौँ कठिनाइ भोग्नुपरेको बताए । यस्ता समस्या समाधान गर्न सरकारले प्राथमिकताका साथ काम गर्ने उनको भनाइ थियो ।
उनले आगामी दिनमा हिमाली तथा दुर्गम क्षेत्रमा सडक निर्माण र आवश्यक बजेट व्यवस्थापनमा सरकारले विशेष ध्यान दिने बताए ।
देशका सबै क्षेत्रका नागरिकले भोगिरहेका समस्या वर्तमान सरकारको प्राथमिकतामा रहेको पनि गृहमन्त्री गुरुङले उल्लेख गरे ।
प्रकाशित मिति: २१ कार्तिक २०८३, शनिबार













प्रतिक्रिया