काठमाडौं। उपसभामुख रुवि कुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत कडा आक्रोश व्यक्त गरेकी छन्।
श्रेष्ठ पक्राउ परेको घटनापछि उपसभामुख ठाकुरले फेसबुकमा उनलाई लक्षित गर्दै गम्भीर आरोपसहितको टिप्पणी सार्वजनिक गरेकी हुन्।
ठाकुरले श्रेष्ठलाई ‘पत्रकारको भेषमा राक्षस’ भन्दै श्रीसा कार्कीलाई आत्महत्या गर्न बाध्य पारेको र अन्य युवतीलाई समेत आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लगाएकी छन्। उनले श्रेष्ठले थुप्रै महिलाको चरित्र हत्या गरेको दाबीसमेत गरेकी छन्।
त्यस्तै, उनले श्रेष्ठको प्रकाशन ‘जनआस्था’ पत्रकार आचारसंहिताविपरीत रहेको आरोप लगाउँदै प्रश्न गरेकी छन्, ‘यो राक्षसलाई के भन्ने ?’
उपसभामुख ठाकुरले फेसबुकमा लेखेकी छन्, ‘यो श्रीसा कार्कीलाई आत्महत्या गराउने र कयौं युवतीलाई आत्महत्या दुरुत्साहन गर्ने पत्रकारको भेषमा राक्षस नै हो । यसले कयौं महिला दिदीबहिनीको चरित्र हत्या गरेको छ । यसको जनआस्था पत्रकार आचारसंहिता विपरीत रहेको छ । यो राक्षसलाई के भन्ने ?????’
यसअघि प्रहरीले श्रेष्ठलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरेको थियो। उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा जाहेरी परेको बताइएको छ।
उपसभामुख ठाकुरको पछिल्लो अभिव्यक्तिले श्रेष्ठमाथि लागेको आरोप र पक्राउ प्रकरणलाई थप चर्चामा ल्याएको छ।
प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार













प्रतिक्रिया