काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–१० माईधार घर भई काठमाडौँ महानगरपालिका–२६ मित्रनगरमा बस्दै आएका नवीन रायालाई अपहरण गरी बन्धक बनाउने तथा परिवारसँग १८ लाख रुपैयाँ फिरौती माग्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार गत साउन २८ गते ५–६ जनाको समूहले रायालाई अपहरण गरी बन्धक बनाएको, कुटपिट गरेको तथा परिवारसँग १८ लाख रुपैयाँ फिरौती मागेको सूचना प्राप्त भएको थियो।

सूचना पाएलगत्तै परिचालित प्रहरी टोलीले सोही दिन साँझ करिब ६ः३० बजे काठमाडौँको नागार्जुन नगरपालिका–५, छगडोलबाट रायाको सकुशल उद्धार गरेको थियो। उद्धारका क्रममा घटनामा संलग्न सातै जनालाई घटनास्थल आसपासबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–३ का ३२ वर्षीय मनोज बुढाथोकी, मकवानपुरको बागमती गाउँपालिका–५ फापरबारीका २० वर्षीय निशान रुम्बा तामाङ, सर्लाहीको लालबन्दी नगरपालिका–४ का २२ वर्षीय जेनिश चौधरी, ओखलढुङ्गाको लिखु गाउँपालिका–५ का २४ वर्षीय निमेश कार्की र चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय अमित ओली छन्।

त्यस्तै, अर्घाखाँचीको मालारानी गाउँपालिका–३ का २२ वर्षीय प्रदीप पोखरेल र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ का २३ वर्षीय देवकुमार श्रेष्ठ पनि पक्राउ परेका छन्।

पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। उनीहरूलाई काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरी उपरीक्षक तथा सूचना अधिकारी रामेश्वर कार्कीले जानकारी दिए।

प्रकाशित मिति: ३० श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com