काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङलगायत क्षेत्रमा बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि कर्णाली प्रदेश सरकारले सातवटा महत्वपूर्ण निर्णय गरेको छ।

अविरल वर्षापछि रिसाङमा गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्। करिब दुई सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

प्रदेश सरकारले प्रभावित क्षेत्रमा तत्काल राहत सामग्री उपलब्ध गराउने, पहिरोबाट घर, पशुपन्छी तथा कृषि बालीमा भएको क्षतिको विवरण संकलन गरी आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ। विस्थापित नागरिकको स्वास्थ्य उपचार तथा अन्य आवश्यक व्यवस्थापन सामाजिक विकास मन्त्रालयमार्फत गरिने भएको छ।

त्यस्तै, राहत वितरणमा जिल्ला प्रशासन कार्यालय जाजरकोटसँग समन्वय गर्ने, अवरुद्ध राजमार्ग तथा सडक खुलाउन आवश्यक पहल गर्ने, पूर्ण रूपमा क्षतिग्रस्त आवासका लागि अस्थायी आवास अनुदान उपलब्ध गराउने र पहिरोमा ज्यान गुमाएकाका परिवारलाई बीमामार्फत राहत रकम उपलब्ध गराउने प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ।

अविरल वर्षा जारी रहेकाले रिसाङलगायत प्रभावित क्षेत्रमा पहिरोको जोखिम अझै कायम रहेको छ। सुरक्षा निकायले जोखिममा रहेका नागरिकको उद्धार तथा सुरक्षित स्थानान्तरणलाई निरन्तरता दिइरहेका छन्।

प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com