काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकार निरङ्कुशतातर्फ उन्मुख भएको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै बादलले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई ‘बालेन्द्रतन्त्र’को संज्ञा दिँदै छोटो समयमै सरकारले निरङ्कुशताको चरित्र देखाएको दाबी गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा प्राप्त गरेको १८२ सिटको बहुमतलाई ‘काँचको घर’को संज्ञा दिँदै उनले सत्तापक्षलाई अहङ्कार र उत्ताउलोपन प्रदर्शन नगर्न चेतावनी दिए।
‘रास्वपाका आदरणीय मित्रहरूलाई १८२ तले काँचको घरमा बसेर अहङ्कार र उत्ताउलोपन प्रदर्शन नगर्न तथा प्रतिपक्षी नागरिकमाथि ढुङ्गा प्रहार नगर्न विनम्र आग्रह गर्दछु,’ उनले भने।
बादलले लोकतान्त्रिक दलहरूबीच एकता र मजबुत मोर्चा बनेपछि रास्वपा नेतृत्वको सरकारको बहुमत ढल्ने दाबी गरे।
‘जुन दिन लोकतान्त्रिक दलहरूले आफ्ना आन्तरिक विभाजनलाई मजबुत मोर्चा र एकतामा परिणत गर्नेछन्, यो गर्ल्यामगुर्लुम ढल्नेछ र चकनाचुर हुनेछ,’ उनले भने।
उनले बालेन्द्र सरकार लोकतन्त्र सुदृढीकरणका लागि नभई राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले बनेको आरोपसमेत लगाए। पूर्वप्रधानमन्त्री सुशीला कार्कीको निष्कर्ष उद्धृत गर्दै उनले सरकार ‘केपी शर्मा ओली र लोकतन्त्रको विरोध गर्न बनेको’ दाबी गरे।
रास्वपा सांसद डा. अमरेश सिंहको भनाइ उद्धृत गर्दै बादलले वर्तमान सरकारको शासनशैली पाकिस्तान हुँदै उत्तर कोरियाली मोडलतर्फ उन्मुख भएको आरोप लगाए।
उनले नागरिक सुरक्षा र कानुन निर्माणको जिम्मेवारीसमेत गलत व्यक्तिको हातमा पुगेको दाबी गरे। हिंसात्मक गतिविधिमा संलग्न भएका तथा जेल तोडेर कैदी भगाउने र हतियार लुट्नेहरू नै अहिले राज्य सञ्चालनमा पुगेको उनको आरोप थियो।
‘जसले ‘डिस्कर्ड’मार्फत देश जलाउने योजना बनाए, तालिम दिए र खरानी बनाए, आज उनीहरूकै हातमा नागरिक सुरक्षाको कमान्ड छ,’ उनले भने, ‘जसले जेल भत्काए, कैदी भगाए र हतियार लुटे, आज उनीहरूले नै कानुन बनाउने ठेक्का पाएका छन्।’
बादलले लोकतान्त्रिक आन्दोलनमा योगदान नगरेकाहरू अहिले लोकतन्त्रको पक्षधर बनेर प्रस्तुत भइरहेको टिप्पणी गरे। उनले राजनीतिक इतिहास र विगतका संघर्षलाई बिर्सन नहुने भन्दै वर्तमान घटनाको मूल्याङ्कन इतिहासले गर्ने बताए।
प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार













प्रतिक्रिया