काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आगामी दिनमा आफूलाई थप संयमित, अनुशासित र मर्यादित रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता जनाएकी छन्।
संसद् र सार्वजनिक रूपमा व्यक्त गर्ने अभिव्यक्ति तथा प्रस्तुत गर्ने शैलीलाई लिएर आलोचना भइरहेका बेला तामाङले सामाजिक सञ्जालमार्फत आत्मालोचना गर्दै आफ्नो व्यवहारमा सुधार गर्ने बताएकी हुन्।
उनले छोटो स्टाटसमार्फत लेखेकी छन्, ‘अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालना गर्ने आशिका बन्ने कोसिस गर्नेछु।’
पछिल्लो समय प्रतिनिधिसभा बैठकमा मन्त्रीले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएपछि तामाङ चर्चामा आएकी थिइन्। त्यसपछि सञ्चारकर्मीसँग उनले दिएको अभिव्यक्तिलाई लिएर समेत सार्वजनिक आलोचना भएको थियो।
उनको संसद्भित्रको प्रस्तुतिलाई लिएर पार्टीभित्र तथा बाहिर टीकाटिप्पणी भइरहेका बेला तामाङले आफ्नो शैलीप्रति आत्मसमीक्षा गर्दै आगामी दिनमा संयमित र मर्यादित भूमिकामा प्रस्तुत हुने प्रतिबद्धता जनाएकी हुन्।
प्रकाशित मिति: ४ भाद्र २०८३, बिहिबार













प्रतिक्रिया