काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभामा दुई तिहाइ बहुमत पुग्दैमा संविधान संशोधन सम्भव नहुने बताएका छन्।
बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले संविधान संशोधनका लागि आवश्यक संवैधानिक प्रक्रिया र त्यससँग जोडिएका जटिलतालाई समेत ध्यान दिनुपर्ने बताए।
संवेदनशील विषयमा आरोप वा आशंकाका आधारमा निष्कर्ष निकाल्न नहुने भन्दै उनले तथ्य र प्रमाणका आधारमा मात्रै बहस गर्नुपर्नेमा जोड दिए।
अदालतमा विचाराधीन मुद्दामा बयानका क्रममा कसैको नाम उल्लेख हुँदैमा त्यसलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने उनको भनाइ थियो। उनले आरोप, बयान र प्रमाणबीचको अन्तर बुझेर मात्रै धारणा बनाउनुपर्ने बताए।
लामिछानेले भ्रष्टाचार नियन्त्रणको बहससमेत केन्द्रमा बढी सीमित भएको बताए। उनका अनुसार भ्रष्टाचारको अवस्था स्थानीय तहमा समेत गम्भीर रहेकाले अनुसन्धान र निगरानीको प्राथमिकता त्यतातर्फ बढाउन आवश्यक छ।
‘भ्रष्टाचार नियन्त्रणबारे समितिमा छलफल गर्दा सिंहदरबार वा केन्द्रमा ९० प्रतिशत समय दिन्छौँ भने स्थानीय तहमा १० प्रतिशत मात्रै दिएका छौँ। जबकि भ्रष्टाचार बढी तल्लो निकायमा छ,’ उनले भने।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान र कारबाहीले सम्बन्धित व्यक्तिको सामाजिक प्रतिष्ठा तथा सार्वजनिक पदमा समेत प्रभाव पार्न सक्ने भन्दै लामिछानेले कानुन निर्माण गर्दा त्यस पक्षलाई समेत गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने बताए।
उनले अनुसन्धान र कारबाही आवश्यक भए पनि त्यस क्रममा व्यक्तिको अधिकार, प्रतिष्ठा र न्यायिक प्रक्रियाको सन्तुलन कायम गर्नुपर्ने धारणा राखे।
प्रकाशित मिति: ४ भाद्र २०८३, बिहिबार












प्रतिक्रिया