काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी भएको दाबी गरेका छन्। उनले प्रधानमन्त्री शाह खम्पा गुम्बा दर्शनका लागि व्यक्तिगत भ्रमणमा मुस्ताङ पुगेको बताएका हुन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणलाई लिएर सामाजिक सञ्जालमा भइरहेका विभिन्न प्रचारप्रति आपत्तिसमेत जनाएका छन्।

उनले प्रधानमन्त्रीको निजी भ्रमणलाई अनावश्यक रूपमा राजनीतिक विषय बनाउन नहुने बताएका छन्। निजी प्रयोजनका लागि भ्रमण गर्दा ठूलो संख्यामा सुरक्षाकर्मीको लावालस्कर आवश्यक नपर्ने उनको भनाइ छ।

‘प्रधानमन्त्री आफ्नो निजी भ्रमणमा मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न जानुभएको हो। निजी भ्रमणमा पनि सुरक्षाकर्मीको लावालस्कर नै लिएर हिँड्नुपर्छ भन्ने छैन,’ शाहीले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रधानमन्त्रीलाई पनि केही समय व्यक्तिगत जीवन र निजी समयका रूपमा स्वतन्त्र ढंगले बिताउन दिनुपर्ने शाहीले बताएका छन्। हरेक गतिविधिलाई राजनीतिक दृष्टिले हेरेर प्रचार गर्नु उचित नहुने उनको धारणा छ।

उनले प्रधानमन्त्रीको निजी भ्रमणलाई लिएर अनावश्यक टीकाटिप्पणी तथा राजनीतिक बहस नगर्नसमेत आग्रह गरेका छन्।

प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com