काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा दुई वर्षीया बालिकाको हत्या आरोपमा उनकी सौतेनी आमालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले बालिकाको हत्या सौतेनी आमाले गरेको देखाएको छ।

मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार बिहान घरबाट हराएकी थिइन्। खोजी गर्ने क्रममा हराएको करिब दुई घण्टापछि उनको शव घरपछाडिको झाडीमा फेला परेको थियो।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले खोजतलास सुरु गरेको थियो। बालिकाको शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ।

हत्याको आरोपमा प्रहरीले १९ वर्षीया मुस्कान खातुनलाई पक्राउ गरेको सप्तरीका प्रहरी उपरीक्षक रूपक खड्काले जानकारी दिए। मुस्कान मृतक बालिकाकी कान्छी आमा हुन्।

प्रहरीका अनुसार मृतकका बुवा मोहम्मद इरफान वैदेशिक रोजगारीका क्रममा कतारमा छन्। इरफानकी जेठी पत्नी र कान्छी पत्नीबीच यसअघि पनि विवाद हुँदै आएको थियो। स्थानीयका अनुसार शनिबार दुई पत्नीबीच सौता लागेर आएको विषयमा विवाद भएको थियो। सम्पत्तिको हकदार को हुने भन्ने विषयमा समेत उनीहरूबीच विवाद रहेको बताइएको छ।

इरफानको पुर्ख्यौली घरमा जेठी पत्नी र बालिका बस्दै आएका थिए भने कान्छी पत्नी मुस्कान नजिकै डेरा लिएर बस्दै आएकी थिइन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मुस्कानको संलग्नता देखिएको एसपी खड्काले बताए। उनका अनुसार बालिकाको शरीरमा बाहिरी घाउचोट देखिएको छैन र घटनामा एक जनाको मात्रै संलग्नता रहेको प्रारम्भिक निष्कर्ष छ।

बालिका हराएको घटनाको विरोधमा स्थानीयवासीले आइतबार दिउँसो केही समय रुपनी बजार बन्द गराएका थिए। स्थानीयको विरोधपछि केहीबेर अवरुद्ध रुपनी बजार र राजमार्ग अहिले खुलिसकेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: ७ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com