माननीय रामबहादुर थापा ‘बादल’ ज्यू,
यो पत्र तपाईको चरित्रहत्या, अवमूल्यन वा बदनाम गर्ने उद्देश्यले लेखिएको होइन। तपाईको लामो राजनीतिक यात्रामा प्राप्त उपलब्धि, निर्णय, मोड र त्यसका परिणामलाई बाहिरबाट हेर्दा देखिने केही कठोर सत्यता तपाईलाई नै ऐनामा देखाउने प्रयास मात्र हो। सायद ऐना अलि उज्यालो छ, तर ऐना नै हो। यसलाई आलोचना भन्दा बढी सद्भावपूर्ण आत्ममूल्याङ्कनको निम्तोका रूपमा लिनुहुनेछ भन्ने अपेक्षा छ।
तपाई करिब दुई दशकको प्रयासपछि विद्यालय शिक्षा पूरा गरेर कृषि शिक्षातर्फ अघि बढ्नुभयो र उच्च शिक्षाका लागि तत्कालीन सोभियत संघसम्म पुग्नुभयो। तर त्यस बाटोमा अपेक्षित सफलता नपाएर होला, कृषि र पेशागत जीवनको सम्भावित बाटो छोड्नुभयो। अनि मार्क्स, एंगेल्स र लेनिनका विचारबाट प्रभावित भई साम्यवादमा भिजेर होला, भूमिगत राजनीतितर्फ लाग्नुभयो र अन्ततः सशस्त्र संघर्षको बाटो रोज्नुभयो।
दश वर्ष भन्दा लामो हिंसात्मक द्वन्द्वले नेपाल र नेपाली समाजलाई चौतर्फी गहिरो क्षति पुर्यायो। तर अन्ततः त्यही संघर्षलाई आफ्नो घोषित लक्ष्य अनुसार निर्णायक विजयमा पुर्याउन सक्नु भएन र बृहत् शान्ति सम्झौता मार्फत संविधानसभा, निर्वाचन, संसद् र बहुदलीय राजनीतिक प्रतिस्पर्धाको संवैधानिक प्रक्रियामा प्रवेश गर्नुभयो। हिजो राज्यसत्ता कब्जा गर्न बन्दुक उठाएर जंगल पस्नुभएको व्यक्ति अन्ततः राज्य सञ्चालनका लागि संविधान, कानून, जनमत, संवाद र संस्थागत प्रक्रियाकै बाटोमा फर्किन बाध्य हुनुभयो।
इतिहासले यहाँ एउटा महत्वपूर्ण पाठ दियो – हिंसाको राजनीतिले राज्य व्यवस्था र संरचनालाई विचलित बनाउन सक्छ; तर स्थायी राज्य निर्माण गर्न वैधानिकता, राज्यशक्तिका स्थापित संस्था, जनअनुमोदन साथै संवाद र सम्झौताको संस्कार आवश्यक हुन्छ। तपाई त्यो यथार्थका साक्षी मात्र होइन, प्रमुख पात्र पनि हुनुभयो।
त्यसपछि तपाईको राजनीतिक यात्रामा गन्तव्यको खोजीको शृङ्खला सुरु भएको देखियो। प्रचण्डसँगको लामो सहयात्राबाट अलग भएर मोहन वैद्यसँग जानुभयो। त्यहाँ पनि अपेक्षित राजनीतिक गन्तव्य नभेटिएर होला, आफ्नै राजनीतिक बाटो निर्माण गर्ने प्रयास गर्नुभयो। तर अपेक्षित संगठनात्मक आधार निर्माण हुन नसकेपछि बाध्य भएर पुनः प्रचण्डकै शरणमा फर्किनुभयो। त्यसपछि एमालेसँग एकता भएर नेपाल कम्युनिस्ट पार्टी बन्यो, तर त्यो प्रयोग पनि टिक्न नसकेपछि तपाई अन्ततः ओली नेतृत्वको राजनीतिक धारमा समाहित हुनुभयो।
यी घटनाहरूलाई कसैले अवसरवाद, कसैले राजनीतिक लचकता र कसैले परिस्थिति अनुसारको रणनीतिक अनुकूलन भन्न सक्छन् होला। तर एउटा प्रश्न भने स्वाभाविक रूपमा उठ्छ – आफ्ना राजनीतिक निर्णय, विचार, गुरु र सहयात्रीहरूसँगको सम्बन्धमा दीर्घकालीन स्थिरता कायम गर्न तपाई कति सफल हुनुभयो ? विचार र राजनीतिक ध्रुव बारम्बार बदलिदै जाँदा तपाईको राजनीतिक विश्वसनीयतामाथि प्रश्न उठ्नु अस्वाभाविक होइन।
तपाईको यात्राको सबैभन्दा महत्वपूर्ण नेतृत्व परीक्षा भने नेपाली सेनासँगको सम्बन्ध र रक्षा मन्त्रीको जिम्मेवारी थियो। हिजो द्वन्द्वमा नेपाली सेनासँग भिड्नुभएको व्यक्ति इतिहासकै असाधारण अवसरका रूपमा त्यही सेनाको रक्षा मन्त्री बन्नुभयो। त्यो तपाईका लागि केवल राजनीतिक पद थिएन; पूर्वविद्रोही र राष्ट्रिय सेनाबीच विश्वास निर्माण गर्ने, पुरानो वैरभाव अन्त्य गर्ने र आफ्नो विगत भन्दा माथि उठेर राष्ट्रिय संस्थासँग नयाँ सम्बन्ध स्थापित गर्ने ऐतिहासिक अवसर थियो। तर यही अध्याय तपाईको राजनीतिक यात्राको ठूलो असफलता बन्न पुग्यो।
सैन्य भर्ना, सहायक रथीहरूको पदावधि, राष्ट्रिय खेलकुदलगायतका विषयमा देखिएका मतभेद र अन्ततः प्रधानसेनापति सम्बन्धी विवादले सरकार, राष्ट्रपति र नेपाली सेनाबीच गम्भीर संवैधानिक तथा संस्थागत टकराव सिर्जना गर्यो। रक्षा मन्त्रीका रूपमा तपाई नागरिक-सैनिक सम्बन्ध व्यवस्थापन गर्न तथा तत्कालीन राजनीतिक शक्ति-सन्तुलन मिलाउन असफल हुनुभएको तथ्यलाई पनि इतिहासबाट हटाउन सकिदैन।
त्यो घटनाको पाठ स्पष्ट थियो – नेपाली सेना जस्तो सबल राष्ट्रिय संस्थासँग राजनीतिक शक्ति प्रदर्शन गरेर स्थायी विजय हासिल गर्न सकिदैन; संस्थागत विश्वास, संवाद र संवैधानिक मर्यादाबाट मात्र सम्बन्ध बलियो हुन्छ। दुर्भाग्यवश, आज पनि नेपाली सेनाबारे तपाईका कतिपय अभिव्यक्तिमा त्यही द्वन्द्वकालीन अनुभवको छाया देखिन्छ। त्यसैले एउटा असहज प्रश्न उठ्छ – नेपाली सेनासँगको बाहिरी द्वन्द्व समाप्त भयो; तर के त्यस द्वन्द्वको केही प्रभाव अझै तपाईको राजनीतिक चेतनाभित्र बाँकी छ?
इतिहासले तपाईलाई अर्को ठूलो जिम्मेवारी पनि दियो – गृहमन्त्रीको। हिजो राज्यको सुरक्षा संरचना विरुद्ध सशस्त्र संघर्ष गर्ने व्यक्ति आज त्यही राज्यको कानून र सुव्यवस्था कायम गर्ने राजनीतिक नेतृत्वमा पुग्नुभयो। तर यस अवधिमा विप्लव समूहसँगको सुरक्षा चुनौती, कुमार पौडेल प्रकरण, निर्मला पन्त प्रकरण लगायतका घटनाले गृह प्रशासनको क्षमता र सार्वजनिक विश्वसनीयतामाथि प्रश्न उठाए। ती सबै घटनाको व्यक्तिगत दोष तपाईमाथि मात्र लगाउनु न्यायोचित हुँदैन; तर ठूलो पदसँग ठूलो संस्थागत उत्तरदायित्व पनि आउने सामान्य नियम हो।
त्यसपछि फेरि राजनीतिक समीकरण बदलियो। नेकपाको प्रयोग असफल भयो, प्रचण्ड-ओली संघर्षले नयाँ विभाजन ल्यायो र तपाई ओलीतर्फ उभिनुभयो। राष्ट्रियसभा सदस्यता गुम्यो, उपनिर्वाचनमा पराजय भयो र मन्त्री पद पनि गुम्यो। बारम्बार धार र दल बदल्न सक्नु राजनीतिक क्षमता होला, तर प्रत्येक असफलताबाट आफूलाई रूपान्तरण गर्न नसक्नु राजनीतिक अपरिपक्वता नै हो।
तपाईले पछिल्लो अध्याय – २०८२ भदौ २३-२४ का घटनाहरूलाई मूलतः ‘प्रतिक्रान्ति’, ‘रङ्गक्रान्ति’ वा योजनाबद्ध षड्यन्त्रका रूपमा व्याख्या गर्नुभएको देखिन्छ। राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितको लागि यस्तो अदृश्य/ शंकाजन्य सम्भावनाहरुको सुक्ष्म राजनीतिक विश्लेषण गर्न आवश्यक छ साथै यो सबै राजनीतिक दल र राजनीतिज्ञहरुको कर्तव्य पनि हो । तर त्यससँगै सडकमा व्यक्त भएको सुशासनको माग, भ्रष्टाचार विरोधी भावना, राजनीतिक जवाफदेहिता, पुस्तान्तरणको आकांक्षा र स्थापित राजनीतिक दल र नेतृत्वप्रतिको व्यापक असन्तुष्टिलाई पनि गम्भीरतापूर्वक बुझ्न आवश्यक थियो ।
तर यही ठाउँमा तपाईको वस्तुस्थिति र धरातलीय यथार्थको विश्लेषण कमजोर देखियो। मूल्य मान्यता खस्किदै गएको समाज, बदलिदो जन-मनोविज्ञान, तीव्र रूपमा गहिरो भइरहेको हुनेखाने र गरीखाने बिचको खाडल, स्वार्थ समूहहरुको भूमिका समयमै पहिचान गरी त्यसअनुसार राजनीतिक पहल गर्नुभन्दा घटनापछि रक्षात्मक व्याख्या र आक्षेप अनि आरोपतर्फ बढी केन्द्रित हुनुभयो। राजनीतिमा घटना घटिसकेपछि त्यसको अनुकुल व्याख्या गर्नु मात्र नेतृत्वको जिम्मेवारी होइन; प्रतिकुल संकेतहरु समयमै अनुमान गर्न सक्नु, घटनाको सही चिरफार गर्नु र त्यसअनुसार समयानुकुल पहल लिनु पनि सफल नेतृत्वको गुण हो। तर यो गुण तपाईंमा पर्याप्त रूपमा देखिएन।
भदौ २३-२४ का घटनाबारे संसदमा तपाईले नेपाली सेनाको भूमिकालाई लिएर उठाउनु भएका प्रश्न पनि यही सन्दर्भमा हेर्नुपर्छ। सेना निष्क्रिय बसेको, तत्कालीन एमाले नेतृत्वको सरकारलाई साथ नदिएको वा पछिल्लो राजनीतिक परिस्थिति निर्माणमा सेनाको भूमिका रहेको भन्ने धारणा तपाईका संवेदनशील राजनीतिक दाबी हुन्। लोकतन्त्रमा सेनाको संवैधानिक परिचालन, कानूनसम्मत रूपमा नागरिक प्रशासनलाई दिइने सहयोग, समन्वय र कार्यदक्षतामाथि प्रश्न उठाउनु अस्वाभाविक होइन। यस्ता प्रश्नहरू लोकतान्त्रिक मुलुकहरूमा हुने सामान्य संसदीय र प्रक्रियागत अभ्यास पनि हुन्।
तर तपाईको बुझाइ र सोचमा देखिएको समस्या भनेको प्रमाणित तथ्य, छानबिन र विश्लेषण बिना आत्मतुष्टि र राजनीतिक अभिष्टका लागि सेनालाई राजनीतिक अवस्था, परिस्थिति र परिवर्तनको योजनाकार वा कुनै सरकार निर्माण तथा सञ्चालनको शक्ति-स्रोतका रूपमा प्रस्तुत गर्नु थियो र यसले नेपाली सेनाप्रतिको तपाईको दृष्टिकोणमा द्वन्द्वकालीन तिक्तता र पुराना धारणाहरूको प्रभाव अझै रहेको देखाउँछ।
“राज्य शक्ति बन्दुकको नालबाट निस्कन्छ” भन्ने सोचबाट विस्फोटक राजनीतिमा प्रवेश गर्नुभएको तपाईले आज अर्को यथार्थ पनि स्वीकार गर्नैपर्छ – नेपाली सेना विश्वका अन्य लोकतान्त्रिक मुलुकका सेनाझै राष्ट्र, संविधान र राज्यको निरन्तरतासँग जोडिएको राष्ट्रिय संस्था हो। व्यवस्था र सरकार बदलिन्छ, राजनीतिक नेतृत्व फेरिन्छ; तर नेपाली सेना कुनै नेतृत्व, दल वा सरकारको पक्ष लिएर होईन राष्ट्रको सुरक्षा, भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय एकता र राज्यको स्वतन्त्रताको रक्षा गर्ने संवैधानिक दायित्व लिएर अविचलित र अविरल अघि बढिरहनेछ।
नेपालको आफ्नै इतिहासमा पनि एकीकरणकालदेखि वर्तमानसम्म नेपाली सेनाको भूमिका सम्झनयोग्य छ। एकीकरणदेखि आजसम्म शासन व्यवस्था बदलिए, सरकारहरू आए-गए, नेतृत्व बदलिए र राजनीतिक शक्ति फेरिए; तर कठिन तथा विषम परिस्थितिमा नेपाली सेना राष्ट्र र राष्ट्रवासीको साथमा उभिएको छ। २०४६, २०६३ र २०८२ का निर्णायक राजनीतिक संक्रमणहरूमा सेनाले राष्ट्र र जनताको पक्षमा खेलेको भूमिकाको महत्त्वलाई नेपालको राजनीतिक इतिहासबाट अलग गरेर हेर्न सकिदैन।
अर्को महत्वपूर्ण पक्ष, एमाले नेपालको राजनीतिक इतिहासमा स्थापित, व्यापक जनसमर्थन भएको र संविधानले परिकल्पना गरेको लोकतान्त्रिक प्रतिस्पर्धा तथा राज्य सञ्चालनको महत्वपूर्ण राष्ट्रिय शक्ति हो। यस्तो दलले समाजका विभिन्न वर्ग, पेशा र संस्थासँग विश्वासको सम्बन्ध कायम राखेको छ र निरन्तर कायम राख्नुपर्छ। नेपाली सेनाप्रतिको अनावश्यक पूर्वाग्रहपूर्ण र अल्पदृष्टि सम्पन्न अभिव्यक्तिहरूको असर सेनाभित्र मात्र सीमित हुँदैन। सेनासँग प्रत्यक्ष, पारिवारिक, व्यावसायिक वा सामाजिक सम्बन्ध भएका तथा एमालेप्रति सद्भाव र समर्थन राख्ने ठूलो नागरिक समूहमा पनि दूरी र असहजता पैदा हुन सक्छ। यसले अन्ततः एमालेकै सामाजिक आधार र दीर्घकालीन राजनीतिक स्वीकार्यतालाई कमजोर पार्ने सम्भावना रहन्छ। त्यसैले व्यक्तिगत राजनीतिक धारणा र पुरानो मानसिकता भन्दा माथि उठेर राष्ट्रिय संस्थाप्रति सन्तुलित दृष्टिकोण राख्नु तपाईको व्यक्तिगत विश्वसनीयताका लागि मात्र होइन, एमालेको दीर्घकालीन राजनीतिक हितका लागि पनि आवश्यक छ।
कमरेड बादल, तपाईको राजनीतिक यात्राले विद्रोहदेखि मूलधारसम्म, संघर्षदेखि सत्तासम्म र अनेकौ आरोह-अवरोह देखेको छ। इतिहासले तपाईलाई धेरै अवसर दियो, केही कठोर पाठ पनि सिकायो। अबको चुनौती विगतबाट भाग्नु होइन, त्यसलाई अनुभव र परिपक्वतामा रूपान्तरण गर्नु हो।
आज तपाईका लागि इतिहासमा आफ्नो स्थान खोज्ने समय भन्दा पनि आफ्नो स्थान आफै निर्माण गर्ने समय हो। सबल, समर्थ, समृद्ध र शान्त नेपालको निर्माण, सुशासन, प्रभावकारी राज्य सेवा, सक्षम सुरक्षा संरचना र सामाजिक सद्भावका पक्षमा उभिने परिपक्व राजनीतिक नेतृत्वका रूपमा आफूलाई पुनःपरिभाषित गर्न सक्नुभयो भने, त्यो नै तपाईको सबैभन्दा ठूलो राजनीतिक पुनरागमन हुनेछ।
पद आउँछन्, जान्छन्; सत्ता बदलिन्छ, राजनीतिक समीकरण फेरिन्छन्। तर राष्ट्रको दीर्घकालीन हितका लागि छोडिएको सकारात्मक योगदान रहिरहन्छ। सायद, तपाईको जीवनको बाँकी राजनीतिक यात्राको सबैभन्दा महत्वपूर्ण अध्याय यही हुन सक्छ – विगतले दिएको पहिचान भन्दा माथि उठेर भविष्यको नेपालका लागि आफ्नो नयाँ पहिचान निर्माण गर्नु। यदि तपाईले त्यो गर्न सक्नुभयो भने, तपाईले कसैलाई पराजित गर्नुपर्ने र कसैसँग पराजित हुनुपर्ने छैन। तपाईले आफ्नो विगतका सबै असफलताहरूलाई पराजित गर्नुहुनेछ। र यही नै तपाईको जीवनको सबैभन्दा ठूलो राजनीतिक सफलता हुनेछ।
सादर,
उपरथी विनय बिक्रम राणा (अ.प्रा)
प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार













प्रतिक्रिया