काठमाडौं । रसुवामा आएको भीषण बाढीले जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालित वाणिज्य बैंकका ९ वटा शाखा कार्यालयमा ठूलो क्षति पुर्याएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका अधिकांश शाखाका भवन तथा भौतिक संरचना बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका सबै ९ बैंक शाखामा क्षति पुगेको अनुमान गरिएको छ। ती क्षेत्रसँग सम्पर्क स्थापित गर्न कठिन भएकाले क्षतिको यकिन विवरण संकलन गर्नसमेत समस्या भइरहेको उनले बताए।
बाढी प्रभावित शाखाहरूमा कार्यरत आधाभन्दा बढी कर्मचारी अझै सम्पर्कमा आउन सकेका छैनन्। केही कर्मचारीले भने आफूहरू सुरक्षित रहेको जानकारी गराए पनि कार्यरत बैंक कार्यालयहरू भने बाढीले क्षतिग्रस्त बनाएको बताएका छन्।
रसुवाको प्रभावित क्षेत्रमा नबिल बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक लगायतका वाणिज्य बैंकका शाखा सञ्चालनमा थिए।
बैंकर्स संघले क्षतिग्रस्त शाखाहरूको अवस्था र भौतिक क्षतिको यकिन विवरण संकलन गर्ने प्रयास भइरहेको जनाएको छ। साथै, सुरक्षा निकायसँग समन्वय गरी सम्पर्कविहीन कर्मचारीको खोजी तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरिएको छ।
प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार










प्रतिक्रिया