काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाहसँग पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी छन्। उनीहरू बिहीबार बिहान करिब ९ः३० बजे सडकमार्ग हुँदै विदुरतर्फ गएका हुन्।
बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोटलगायतका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार, राहत तथा पुनःस्थापनाका काममा सक्रिय छन्। बाढीपछि उनले उच्चस्तरीय बैठक बोलाएर प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।
समयको सीमाका कारण प्रधानमन्त्री शाहले बिहीबार मुख्य रूपमा विदुर तथा आसपासका बाढी प्रभावित बस्तीको अवस्था निरीक्षण गर्ने कार्यक्रम रहेको छ।
निरीक्षणका क्रममा प्रधानमन्त्री शाह र मन्त्री लम्सालले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनःस्थापना तथा अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछन्।
त्यस क्रममा प्रभावित क्षेत्रमा राहत तीव्र बनाउने तथा क्षतिग्रस्त पूर्वाधार पुनःनिर्माणलाई गति दिन आवश्यक निर्देशन दिने बताइएको छ।
प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार













प्रतिक्रिया