एजेन्सी । नेपाल-चीन सीमाक्षेत्रमा गएको हिमपहिरो र त्यसपछि आएको बाढीबाट प्रभावित चीनको सिजाङस्थित केरुङ क्षेत्रमा उद्धारसँगै क्षतिग्रस्त सडक तथा संरचना पुनःनिर्माणको काम पनि तीव्र पारिएको छ।

चीनको सरकारी उद्धार तथा इन्जिनियरिङ कम्पनी चाइना एनेङले केरुङ सहरदेखि केरुङ बन्दरगाहसम्म जाने जी२१६ राष्ट्रिय राजमार्गको क्षतिग्रस्त सडक सफा गरेर पुनः सञ्चालनमा ल्याउने काम थालेको हो। उद्धार टोलीले आइतबार मात्रै २८५ मिटर सडक सफा गरेको थियो। अब बन्दरगाहसम्म पुग्न करिब १.२५ किलोमिटर सडक सफा गर्न बाँकी छ।

गत साता बुधबार नेपाल-चीन सीमाक्षेत्रमा हिमपहिरो गएपछि त्यसबाट ठूलो बाढी र माटो तथा चट्टानको बहाव आएको थियो। यसबाट नेपालतर्फ रसुवाको भोटेकोशी क्षेत्रमा ठूलो क्षति पुगेको छ भने चीनतर्फ पनि केरुङ बन्दरगाह र आसपासका क्षेत्रमा क्षति भएको चिनियाँ अधिकारीले बताएका छन्।

चीनको सिजाङ क्षेत्रीय सरकारको सूचना कार्यालयका अनुसार चीनमा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५४६ जना अझै बेपत्ता छन्।

उच्च भूभाग, ठाडा पहाड र बदलिँदो मौसमका कारण उद्धार तथा पुनःस्थापनाको काम कठिन बनेको छ। उद्धार टोलीले प्रभावित क्षेत्रमा जमेको माटो र चट्टान हटाउने, बेपत्ताको खोजी गर्ने, जोखिमयुक्त क्षेत्रको पहिचान गर्ने तथा सरसफाइ र रोग नियन्त्रणको काम गरिरहेका छन्।

उद्धारमा खटिएका कर्मचारीले घटनास्थलको अवस्था निकै कठिन रहेको बताएका छन्। त्यहाँ माटो र चट्टान छरिएका छन् भने पानीको बहाव तीव्र छ। कतिपय ठाउँमा करिब एक मिटर गहिरोसम्म माटो जमेको छ। केरुङ बन्दरगाहको मुख्य भवनसमेत क्षतिग्रस्त भएर फलामको संरचनामात्र बाँकी रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

उद्धार तथा पुनःस्थापनाका लागि चिनियाँ जनमुक्ति सेनाको सिजाङ सैन्य कमान्डले आइतबार सरसफाइ तथा रोग नियन्त्रणसम्बन्धी टोली पनि प्रभावित क्षेत्रमा पठाएको छ। टोलीले वातावरण सफा गर्ने, खाद्यान्न र पानीको गुणस्तर परीक्षण गर्ने, आवश्यक खोप लगाउने तथा घाइते र बिरामीको स्वास्थ्य जाँच गर्नेछ। उद्धारकर्मी र प्रभावित स्थानीयलाई मानसिक सहयोग दिन मनोवैज्ञानिक टोली पनि परिचालन गरिएको छ।

हालसम्म जनमुक्ति सेना, सशस्त्र प्रहरी बल र चाइना एनेङका गरी दुई हजार १४१ जना उद्धारकर्मी परिचालन भएका छन्। उद्धारका लागि २६९ वटा सवारीसाधन र तीन हजार ९२२ सेट उपकरण घटनास्थलमा पठाइएको सिन्हवाले जानकारी दिएको छ।

विपद्पछि अवरुद्ध भएको सञ्चार सेवा पनि क्रमशः पुनःस्थापित गरिँदैछ। आइतबार केरुङ बन्दरगाहनजिकै पहिलो आपत्कालीन बेस स्टेसन सञ्चालनमा ल्याइएको छ। उक्त स्टेसनबाट बन्दरगाह क्षेत्रमा खटिएका उद्धारकर्मीसँग फोन सम्पर्क गर्न सम्भव हुनेछ।

हालसम्म टेलिकम कम्पनीहरूले क्षतिग्रस्त एउटा बेस स्टेसन मर्मत गरेका छन् भने बन्दरगाह आसपास थप आठवटा नयाँ बेस स्टेसन निर्माण गरेका छन्।

चीनको जलस्रोत मन्त्रालयका अनुसार केरुङ बन्दरगाहमाथि बनेको अस्थायी तालको पानी पनि लगभग सकिएको छ। ड्रोनबाट खिचिएका तस्बिर र उद्धार टोलीको रिपोर्टका आधारमा तालको पानी घटेर नदीको सामान्य बहावजस्तो अवस्थामा आएको छ।

चिनियाँ अधिकारीका अनुसार केरुङमा आएको ठूलो माटो र चट्टानको बहाव नेपाल-चीन सीमाक्षेत्रको उच्च हिमाली क्षेत्रमा गएको हिमपहिरोका कारण भएको हो। लाङटाङ लिरुङ हिमालमा करिब पाँच हजार २०० मिटरको उचाइमा हिमनदीको एक भाग भत्किएपछि हिउँ र चट्टानसहितको ठूलो बहाव आएको थियो।

उक्त बहाव करिब चार हजार मिटरको उचाइसम्म तीव्र गतिमा झरेर पहाडको ठूलो भाग बगाउँदै करिब २२ किलोमिटर तल केरुङ बन्दरगाहसम्म पुगेको दाबी गरिएको छ। विपदमा चीनतर्फ करिब ०.७ वर्ग किलोमिटर क्षेत्र प्रभावित भएको र बन्दरगाह क्षेत्रमा रहेका २७ वटा भवन तथा अन्य संरचनामा क्षति पुगेको पाइएको छ।

प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com