रसुवा बाढीको भित्री रहस्य खुल्यो : हिमपहिरोभन्दा शक्तिशाली बन्यो ‘भ्याली इन्ट्रेनमेन्ट’

चिनियाँ वैज्ञानिकको अध्ययन : असामान्य गर्मी र दीर्घकालीन हिमक्षयले हिम–चट्टानको सतह कमजोर बनायो, २२ किलोमिटर बग्दा थपियो माटो–ढुंगा



काठमाडौं । रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढी कसरी केही क्षणमै विशाल महाविपत्तिमा परिणत भयो भन्नेबारे चिनियाँ वैज्ञानिकहरूले नयाँ तथ्य सार्वजनिक गरेका छन्।

चिनियाँ एकेडेमी अफ साइन्सेस (सीएएस) अन्तर्गतको इन्स्टिच्युट अफ तिब्बतन प्लेटो रिसर्चको नेतृत्वमा गरिएको संयुक्त अध्ययनले विपद्को पछाडि रहेको मुख्य प्रक्रियाबारे नयाँ निष्कर्ष निकालेको हो।

अध्ययनअनुसार २६ अगस्ट २०२६ को बिहान लाङटाङ लिरुङ हिमालको उत्तरी भिरालो क्षेत्रमा ठूलो हिम–चट्टान स्खलन भएको थियो। उच्च हिमाली भागबाट खसेको हिउँ, चट्टान र गेग्रान साँघुरो तथा गहिरो खोँच हुँदै तीव्र गतिमा तलतर्फ बगेको थियो।

तल झर्दै गर्दा यही बहावले बाटोमा भेटिएका माटो, ढुंगा, बालुवा र अन्य गेग्रान ठूलो मात्रामा आफूसँग मिसाउँदै लग्यो। वैज्ञानिकहरूले यही प्रक्रियालाई ‘भ्याली इन्ट्रेनमेन्ट’ भनेका छन्। यसले प्रारम्भिक हिमपहिरोलाई अत्यन्त शक्तिशाली लेदो तथा गेग्रान बहावमा परिणत गरेको अध्ययनको निष्कर्ष छ।

मुसलधारे वर्षा मुख्य कारण देखिएन

अनुसन्धानले घटनाअघि उत्पत्ति क्षेत्रमा असाधारण ठूलो वर्षा भएको प्रमाण नदेखिएको जनाएको छ। बरु लामो समयदेखि भइरहेको हिमप्रवाह, हिमनदीको निरन्तर गति र पछिल्लो वसन्त तथा गर्मीमा देखिएको असामान्य तापक्रम वृद्धिले उच्च हिमाली क्षेत्रलाई क्रमशः कमजोर बनाउँदै लगेको वैज्ञानिकहरूको निष्कर्ष छ।

बढ्दो तापक्रमका कारण हिउँ पग्लने क्रम तीव्र हुनुका साथै स्थायी रूपमा जमेर रहने माटो तथा चट्टानको तह कमजोर भएको अध्ययनले देखाएको छ। यसले हिउँ र चट्टानबीचको सम्पर्क सतहलाई अस्थिर बनाउँदै अन्ततः ठूलो स्खलनको अवस्था सिर्जना गरेको हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्।

यद्यपि, पहिरो खस्ने तत्कालीन निर्णायक कारण भने अझै निश्चित हुन नसकेको अध्ययनले स्पष्ट पारेको छ।

२२ किलोमिटरको यात्रामा बढ्यो विनाश

वैज्ञानिक अध्ययनको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको हिमपहिरोको प्रारम्भिक आकारभन्दा पनि त्यसपछि भएको विस्तारलाई मानिएको छ।

हिम–चट्टानको बहाव करिब २२ किलोमिटर लामो खोँच हुँदै तल झर्दा नदीको सतह र आसपासका भिरपाखा निरन्तर कटान गर्दै अघि बढेको थियो। त्यस क्रममा ठूलो परिमाणमा माटो, ढुंगा र गेग्रान बहावमा थपिँदै गए।

नदीको पानीसँग मिसिँदै गएको यही सामग्रीले प्रारम्भिक हिमस्खलनलाई अझ भारी र शक्तिशाली बनायो। परिणामस्वरूप माथिल्लो क्षेत्रमा सुरु भएको घटना तलतर्फ पुग्दा विशाल लेदो तथा गेग्रान बहावमा परिणत भएको अध्ययनले देखाएको छ।

यसै शक्तिशाली बहावले सीमापार चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने केरुङ नाकासहित तल्लो क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो।

ठूलो विपद्अघि देखिएका थिए कम्पनका संकेत

अनुसन्धानकर्ताहरूले मुख्य घटना हुनुभन्दा केही घण्टाअघि उत्पत्ति क्षेत्रमा असामान्य भूकम्पीय संकेतसमेत भेटेका छन्।

भूकम्पीय स्टेसनबाट प्राप्त अभिलेखमा साना स्तरका हिउँ तथा चट्टान सर्ने घटनासँग मेल खाने कम्पनहरू देखिएको अध्ययनमा उल्लेख छ। यसले ठूलो हिमपहिरो आउनुअघि नै क्षेत्रमा साना–साना अस्थिरता उत्पन्न भइरहेको संकेत गर्छ।

यद्यपि यी संकेतको विस्तृत विश्लेषणका लागि थप भूकम्पीय तथ्यांक, इन्फ्रासाउन्ड र भिडियो सामग्री अध्ययन गर्नुपर्ने वैज्ञानिकहरूले बताएका छन्।

यस्ता संकेतलाई भविष्यमा व्यवस्थित रूपमा पहिचान गर्न सके उच्च हिमाली क्षेत्रमा सम्भावित हिमपहिरो तथा गेग्रान बहावको पूर्वसूचना प्रणाली विकास गर्न सहयोग पुग्ने वैज्ञानिकहरूको विश्वास छ।

जोखिम मूल्याङ्कनको तरिका नै बदल्नुपर्ने सुझाव

अध्ययनले हिमाली क्षेत्रमा विपद्को जोखिम मूल्याङ्कन गर्दा पहाडबाट खस्न सक्ने हिउँ वा चट्टानको मात्रा मात्र हेर्न नहुने सुझाव दिएको छ।

विपद् सुरु भएको स्थानदेखि बहावको सम्पूर्ण मार्ग र त्यसबाट प्रभावित हुन सक्ने बस्ती तथा पूर्वाधारसम्मलाई एउटै शृङ्खलाका रूपमा अध्ययन गर्नुपर्ने वैज्ञानिकहरूको निष्कर्ष छ।

विशेषगरी बाटोमा कति माटो, ढुंगा र गेग्रान थपिन सक्छ भन्ने विषयले विपद्को वास्तविक विनाशकारी क्षमता निर्धारण गर्ने अध्ययनले देखाएको छ।

हिमाली विपद्मा सीमापार सहकार्य आवश्यक

वैज्ञानिकहरूले उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको हिमनदी तथा हिम–चट्टान अस्थिरतालाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।

यसका लागि नेपाल, चीनलगायत हिमाली क्षेत्रसँग जोडिएका देशबीच पूर्वसूचना प्रणाली, भू–अनुगमन, जोखिम मूल्याङ्कन तथा विपद् प्रतिकार्यमा सीमापार सहकार्य आवश्यक रहेको अध्ययनले औंल्याएको छ।

चिनियाँ एकेडेमी अफ साइन्सेससहित युनान युनिभर्सिटी, वुहान युनिभर्सिटी, चाइनिज युनिभर्सिटी अफ हङकङलगायत विभिन्न वैज्ञानिक संस्थाका अनुसन्धानकर्ताहरू सहभागी अध्ययन Chinese Science Bulletin मा प्रकाशित भएको जनाइएको छ।

प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com