हेटौँडा। रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आउँदा राजेन्द्र थापा मगरलाई आफू बाँच्ने आशासमेत थिएन। तर, त्यही विपत्तिको बीचमा उनले जोखिम मोलेर सात जनाको ज्यान जोगाए।

रातिको काम सकेर बिहान करिब ६ बजे कोठामा फर्किएका राजेन्द्रलाई साथीले बाहिर बाढी आएको खबर गरे। बाहिर हेर्दा करिब ८० मिटर तलको खोला अस्वाभाविक रूपमा उर्लिरहेको थियो। उनले तत्काल सुतेका सालो नवीन स्याङ्तान र अर्का साथीलाई उठाएर सुरक्षित स्थानतर्फ भाग्न खोजे।

तर केही क्षणमै बाढीले बाटो छेक्यो। ठूलो आवाजसहित ढुंगा र लेदो बग्न थाले। उनीहरू चिनियाँ कामदार बस्ने मेसतर्फ पुगे पनि त्यहाँबाट माथि जाने बाटो सहज थिएन। संरचना भत्किँदै थियो र चारैतिर भागदौड थियो।

“अब बाँचे बाँच्छौँ, मरे मर्छौँ भन्ने भइसकेको थियो। भाग्ने ठाउँ थिएन,” राजेन्द्रले त्यो क्षण सम्झिए।

त्यसपछि उनले ढोका फोरेर झ्यालबाट बाहिर निस्किए र पर्खाल चढेर माथि पुगे। आफू सुरक्षित भएपछि तल फसेकाहरूलाई एकपछि अर्को गर्दै माथि तान्न थाले। सुरुमा एक चिनियाँ कामदारलाई बचाउने प्रयास गरे पनि सफल भएनन्। त्यसपछि सुजन गोलेसहित अन्य साथीहरूलाई माथि ताने।

अन्तिममा आफ्नै सालो नवीन पनि बाढीको डरले माथि आउन सकिरहेका थिएनन्। राजेन्द्रले लगातार बोलाएर उनलाई पनि तानेर सुरक्षित स्थानमा पुर्‍याए। यसरी उनले सात जनालाई उद्धार गरेको बताए।

नवीनले पनि आफू राजेन्द्रकै कारण बाँचेको बताए। “भिनाजुले उठाएर लैजानुभयो। उहाँले तानेर नै म बाँच्न सफल भएँ,” उनले भने।

बाढीबाट जोगिएपछि राजेन्द्रले परिवारलाई आफू सुरक्षित रहेको जानकारी गराए। तर मोबाइलमा चार्ज सकिएपछि सम्पर्क टुट्यो। परिवारले उनीहरूको अवस्थाबारे जानकारी पाउन विभिन्न निकायसँग समन्वय गर्‍यो। सुरक्षित स्थानमा रहेका व्यक्तिहरूको भिडियो भेटिएपछि परिवारले नवीनलाई पहिचान गरेको थियो।

राजेन्द्र र नवीन बाढीपछि पाँच दिनसम्म स्थानीय विद्यालयमा आश्रय लिएर बसे। बिस्कुट र चाउचाउको भरमा दिन बिताउँदै उद्धारको प्रतीक्षा गरे। छैटौँ दिन नेपाली सेनाको हेलिकप्टरले उनीहरूलाई धुन्चे ल्याएपछि सवारीसाधनमार्फत काठमाडौँ हुँदै हेटौँडा पुर्‍याइएको हो।

बाढीमा उनीहरूका लत्ताकपडा र कागजात बगे भने धेरै सहकर्मी सम्पर्कविहीन भए। तर, धेरै दिनको त्रास र अनिश्चिततापछि घर फर्किएका राजेन्द्र आफू मात्रै बाँचेको होइन, सात जनाको ज्यान जोगाएको अनुभव लिएर परिवारमा फर्किएका छन्।

प्रकाशित मिति: १८ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com