काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ खोल्ने काम तीव्र पारिएको छ। बाढीका कारण सुरुङको मुखसहित आयोजनाका मुख्य संरचना माटो, लेदो र ठूला ढुंगाले पुरिएपछि नेपाली सेनाको नेतृत्वमा उद्धार तथा खोजी अभियान जारी छ।
सुरुङभित्र मानिसहरू फसेको आशंकामा नेपाली सेनासँगै चिनियाँ टोली तथा अन्य प्राविधिकसहित ९३ जनाको टोली खोजी तथा उद्धारमा खटिएको छ। टोलीले ५ वटा एक्स्काभेटर, कम्प्रेसर र ब्रेकरलगायत उपकरण प्रयोग गरेर सुरुङको प्रवेशद्वारमा थुप्रिएको डेब्रिस हटाइरहेको छ।
आयोजनाको सुरुङको मुखमा बाढीले बगाएर ल्याएका ठूला ढुंगा तथा करिब ४० मिटर लामो र २० मिटर अग्लो भत्किएको फलामे संरचना थुप्रिएको थियो। लगातार रातदिन काम गरेपछि उद्धार टोलीले माथिल्लो भागबाट करिब ३ फिट सुरुङको मुख खुलाउन सफल भएको छ।
मुख केही खुलेसँगै उद्धार टोली सुरुङभित्र करिब १५ देखि २० मिटरसम्म प्रवेश गरिसकेको छ। तर एक्स्काभेटर तथा अन्य भारी उपकरणलाई समेत सुरुङभित्र लैजान सकिने गरी प्रवेशद्वार पूर्ण रूपमा खुलाउनुपर्ने भएकाले बाँकी डेब्रिस हटाउने काम जारी छ।
सुरुङको मुखमा रहेका ठूला ढुंगा हटाउन ब्लास्टिङको तयारीसमेत गरिएको छ। थप सात वटा ठूला बोल्डर ब्लास्टिङमार्फत फुटाएर हटाउने तयारी भइरहेको आयोजनाले जनाएको छ।
बाढीले सुरुङमा ठूलो मात्रामा माटो र लेदोसमेत थुपारेको छ। करिब १७० मिटर लामो सुरुङ पूर्ण रूपमा छिचोलेपछि मात्रै भित्र रहेका पावरहाउस तथा अन्य संरचनासम्म पुग्न सकिने अवस्था छ।
उद्धार टोलीले अहिले सुरुङको प्रवेशद्वार खुलाउने र बाटोमा रहेका ठूला ढुंगा तथा डेब्रिस हटाउने कामलाई प्राथमिकता दिएको छ। सुरुङभित्र फसेका हुन सक्ने व्यक्तिको अवस्थाबारे यकिन हुन बाँकी रहेकाले उद्धार टोलीले जोखिमबीच पनि खोजी अभियानलाई निरन्तरता दिइरहेको छ।
प्रकाशित मिति: १८ भाद्र २०८३, बिहिबार












प्रतिक्रिया