काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) हुँदै काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति निरन्तर राखेको छ।
भदौ १४ गते त्रिशूली नदीको कटानले पृथ्वी राजमार्ग भत्किएपछि इन्धन ट्यांकर र ग्यास बुलेट बाटोमै रोकिएका थिए। उपत्यकामा अभाव हुन नदिन निगमले तराईका उद्योगबाट भरिएका ग्यास सिलिन्डर बाइरोड हुँदै ल्याउन थालेको हो।
निगमका अनुसार भदौ १८ गते २४ हजार ५०० र १९ गते ३४ हजार १३४ ग्यास सिलिन्डर उपत्यका भित्र्याइएको छ। आपूर्ति सहज बनाउन सार्वजनिक बिदाका दिनमा समेत ग्यास रिफिलिङ तथा ढुवानी जारी राख्न उद्योगहरूलाई निर्देशन दिइएको छ।
यसैबीच, भदौ १० गतेको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा जारी खोज तथा उद्धारका लागि पनि निगमले हवाई इन्धन र एलपी ग्यास उपलब्ध गराइरहेको जनाएको छ।
उद्धार तथा राहतमा खटिएका हेलिकप्टरका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हालसम्म १ लाख २० हजार लिटर हवाई इन्धन रिफ्युलिङ गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा रसुवा र नुवाकोटका अस्थायी सेल्टरमा ५७५ थान एलपी ग्यास सिलिन्डर समेत पठाइएको निगमले जनाएको छ।
प्रकाशित मिति: २१ भाद्र २०८३, आइतबार












प्रतिक्रिया