काठमाडौं । भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित तथा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारले जग्गा खोज्न समिति गठन गरेको छ।
नापी विभागका महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो। समितिले बाढीबाट प्रभावित तथा जोखिममा रहेका परिवारको यकिन तथ्यांक संकलन गरी उनीहरूलाई स्थानान्तरण गर्न उपयुक्त जग्गा पहिचान गर्नेछ।
समितिमा संघीय मामिला मन्त्रालयका उपसचिव, पूर्वाधार विकास मन्त्रालयका उपसचिव, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, नापी विभागका उपसचिवसहित रसुवा, नुवाकोट र धादिङका सम्बन्धित अधिकारीहरू सदस्य छन्।
सम्बन्धित जिल्लाका जिल्ला समन्वय अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, सशस्त्र प्रहरी नायव उपरीक्षक तथा भूमि प्रशासन र नापी कार्यालयका प्रमुख पनि समितिमा रहनेछन्।
समितिले पहिलो चरणमा बाढीबाट कति परिवार प्रभावित तथा जोखिममा छन् र कति परिवारलाई स्थानान्तरण गर्नुपर्ने हो भन्ने यकिन गर्नेछ। घरबारविहीन परिवारको अन्यत्र घर वा जग्गा भए/नभएको विवरणसमेत संकलन गरिनेछ।
त्यसपछि रसुवा, नुवाकोट र धादिङका नापी तथा भूमि कार्यालय र स्थानीय तहसँग समन्वय गरी स्थानान्तरणका लागि उपयुक्त सरकारी वा अन्य जग्गा खोजिनेछ। पहिचान भएका जग्गा बसोबासका लागि सुरक्षित छन् कि छैनन् भन्नेबारे विपद् जोखिमको समेत मूल्यांकन गरिनेछ।
समितिले स्थानान्तरण गर्नुपर्ने परिवारको संख्या र सुरक्षित स्थानको विवरणसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउनेछ। त्यसपछि उपयुक्त जग्गा उपलब्ध गराउन आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।
भोटेकोशी–त्रिशूली बाढीबाट रसुवासहित आसपासका जिल्लामा ठूलो जनधनको क्षति भएको छ भने प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य अझै जारी छ।
प्रकाशित मिति: २१ भाद्र २०८३, आइतबार











प्रतिक्रिया