काठमाडौं। भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन नागरिकको खोजी ‘ब्रेक थ्रु’ नभएसम्म जारी राख्ने नेपाली सेनाले जनाएको छ।
सोमबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवासजंग थापाले सरकारले खोजी रोक्ने निर्णय नगरेसम्म सबै प्रभावित सुरुङमा निरन्तर खोज तथा उद्धार गरिने बताए।
बाढीबाट रसुवा र नुवाकोटका ११ जलविद्युत् आयोजना प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)का अनुसार आयोजना क्षेत्र र सुरुङभित्र रहेका ८९८ जना सम्पर्कविहीन छन्।
रसुवातर्फ रसुवागढी, रसुवा–भोटेकोशी, माथिल्लो मेलुङ–ए, लाङटाङ खोला, चिलिमे र मेलुङ खोला जलविद्युत् आयोजना प्रभावित छन्। नुवाकोटतर्फ त्रिशूली, देवीघाट, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’ र मिडल त्रिशूली गङ्गा आयोजना प्रभावित भएका छन्।
सेना, सशस्त्र प्रहरी तथा विदेशी उद्धारकर्मी सम्मिलित टोलीले प्रभावित आयोजनामा प्राविधिक उपकरणसहित खोजी तीव्र बनाएको छ।
माथिल्लो त्रिशूली–१ को सुरुङभित्र ११५ मिटर गहिराइबाट एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको छ। नेपाली र कोरियन उद्धारकर्मीको संयुक्त टोलीले उद्धार गरेको उक्त सुरुङभित्र अक्सिजनको मात्रा निकै कम रहेकाले उद्धारकर्मीलाई समेत कठिनाइ भएको सहायक रथी थापाले बताए।
त्यस्तै, नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’को पावर हाउसमा चार स्काभेटर र तीन वाटर पम्प प्रयोग गरी १० दिनको निरन्तर प्रयासपछि १७५ मिटरभित्र प्रवेश गर्न उद्धार टोली सफल भएको छ। त्यहाँबाट दुई जनालाई जीवितै उद्धार गर्नुका साथै एक जनाको शव निकालिएको छ।
पावर हाउसमा ठूलो मात्रामा लेदो जमेकाले उद्धारमा कठिनाइ भइरहेको सेनाले जनाएको छ।
माथिल्लो त्रिशूली–३ ‘बी’मा करिब ४० जना पुरिएको आशंका गरिएको छ। त्यहाँ नेपाली सेनाका ९० जना सुरक्षाकर्मी परिचालन गरिएका छन्। मिनी स्काभेटर, सावेल र जनशक्ति प्रयोग गर्दै माथिल्लो त्रिशूली–३ ‘ए’ हुँदै ३ ‘बी’को सुरुङसम्म पुगेर खोजी गर्ने काम भइरहेको सहायक रथी थापाले बताए।
‘जबसम्म टनेलहरू ब्रेक थ्रु हुँदैनन्, तबसम्म खोजी जारी रहन्छ,’ उनले भने।
प्रकाशित मिति: २२ भाद्र २०८३, सोमबार












प्रतिक्रिया