काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जन्मदिनको शुभकामना दिँदै सरकार सञ्चालनमा जनअपेक्षाअनुसार काम हुन नसकेको भन्दै ध्यानाकर्षण गराएका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै शाहीले रास्वपाले पाएको १८२ सिट र दुईतिहाइको जनमत सत्ता उपभोगका लागि नभई सुशासन र परिवर्तनको अनुभूति गराउनका लागि भएको बताएका छन्।

राजनीतिक विचार फरक भए पनि भ्रष्टाचारविरुद्धको लडाइँ साझा रहेको उल्लेख गर्दै उनले लामिछानेलाई विगतमा चितवन, पोखरा र काठमाडौंका सडकमा भ्रष्टाचार तथा गलत प्रवृत्तिविरुद्ध गरिएको संघर्ष नबिर्सन आग्रह गरेका छन्।

सरकार सञ्चालन भएको करिब छ महिना बितिसक्दा पनि जनताले अपेक्षित परिवर्तन महसुस गर्न नसकेको शाहीको दाबी छ। उनका अनुसार ठूला भ्रष्टाचारका फाइल नखुलेको, भ्रष्टाचारमा संलग्न भनिएकाहरू जेल नपरेको र अपराधीहरू खुलेआम हिँडिरहेको अवस्था छ।

‘जनताले सरकार परिवर्तन मात्र खोजेका होइनन्, शासन गर्ने शैली र व्यवस्थामा परिवर्तनको अनुभूति खोजेका हुन्,’ शाहीले भनेका छन्।

उनले ग्यासको अभाव, अस्पतालमा उपचारका लागि हुने समस्या र राहदानी लिन नागरिकले लामो समय लाइन बस्नुपर्ने अवस्थासमेत अन्त्य हुन नसकेको बताएका छन्। सुरुङभित्र फसेका नागरिकको उद्धार हुन नसकेको विषयमा पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

जन्मदिनको अवसरमा लामिछानेलाई आग्रह गर्दै शाहीले ठूला भ्रष्टाचारका फाइल खोल्न सरकारलाई मार्गनिर्देशन गर्न, बेथितिविरुद्ध कठोर कदम चाल्न दबाब दिन र सुशासन कायम गर्ने दिशामा सरकारलाई दृढतापूर्वक अघि बढाउन अपिल गरेका छन्।

प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com