काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री आज स्वदेश फर्किएका छन् । नेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तन र आम निर्वाचनपछि गठन भएको वर्तमान सरकार प्रमुखबाट भारतमा भएको यो पहिलो द्विपक्षीय भ्रमण हो ।

भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई परिणाममुखी साझेदारीमा रूपान्तरण गर्दै दुवै देश र नागरिकले ठोस लाभ प्राप्त गर्ने उद्देश्यले ‘संयुक्त दूरदृष्टि दस्तावेज’ (जोइन्ट भिजन डकुमेन्ट) जारी गरिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेनकाे २ दिनकाे भ्रमणसँगै नेपाल-भारत सम्बन्ध सम्भावनायुक्त सकारात्मक लयमा फर्किएकाे बताएका छन् ।

त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा ओर्लिएसँगै भ्रमणबारेकाे प्रेस ब्रिफिङमा खनालले दुवै देशकाे सम्बन्ध परिणाममुखी बनाउनेगरी दुवै प्रधानमन्त्रीबीच छलफल भएको बताए ।

सरकारले आर्थिक वृद्धि विकास र समृद्धिलाई प्राथमिकतामा राखेको उनको भनाइ थियाे । ‘भारतसँग रहिआएको सदियौं पुरानो घनिष्ट, बहुआयामिक र सहयोगात्मक र जनस्तरको सम्बन्ध एवं सहकार्यप थप मजबुद बनाइ दुवै देशका नागरिकले लाभ प्राप्त गर्ने कमाभ्रमण केन्द्रित रह्यो,’ खनालले भने ।

भ्रमणपछि आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले आज नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरे जानकारी दिए । भेटका क्रममा कनेक्टिभिटी, ऊर्जा साझेदारी, व्यापार तथा आर्थिक सहकार्य, खेलकुद र जनस्तरको सम्बन्ध अभिवृद्धिलगायतका विषयमा घनीभूत छलफल भएको उनले बताए ।

लामो समयपछि भएको उच्चस्तरीय भ्रमणका क्रममा दुवै देशले संयुक्त वक्तव्यसमेत जारी गरेको मन्त्री खनालले जानकारी दिए ।

‘जारी संयुक्त दूरदृष्टि दस्तावेजअन्तर्गत आर्थिक तथा विकास साझेदारी, भौतिक तथा डिजिटल कनेक्टिभिटी, ऊर्जा सहकार्य र जनस्तरीय सम्बन्धलाई प्रगाढ बनाउने सहमति भएको छ । साथै, जलवायु उत्थानशीलता, विपद् जोखिम न्यूनीकरण, खेलकुद, कृषि, शिक्षा, स्वास्थ्य, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष तथा नवप्रवर्तन, संस्कृति, पर्यटन र उदयमान क्षेत्रमा सहकार्य अघि बढाइनेछ’, उनले भनेका छन्, ‘नयाँ विषयहरूमा सहकार्य गर्न सन् १९५० को सन्धि लगायतका पुराना सन्धि–सम्झौताहरूको पुनरावलोकन तथा परिवर्तित समयसापेक्ष बनाउन आवश्यक छलफल र अवलोकनका लागि समेत मार्ग प्रशस्त गरिएको छ ।’

उनले भने, ‘व्यापार सहजीकरण, पारवहन व्यवस्था सुधार र सीमापार सम्पर्क सञ्जाल सुदृढीकरणमा सहमत हुँदै नेपालको तेस्रो मुलुकसँगको व्यापारका लागि विद्यमान कोलकाता र विशाखापट्टनम बन्दरगाहका अतिरिक्त भारतको काण्डलास्थित दीनदयाल बन्दरगाह र ओडिसाको पारादीप बन्दरगाह समेत प्रयोग गर्न पहुँच दिने सहमति भएको छ । यसलाई दशकौँदेखिको नेपालको मागमा ब्रेकथ्रुका रूपमा लिइएको छ।’

सम्पर्क सञ्जाल (कनेक्टिभिटी)तर्फ जनकपुर–अयोध्या यात्रुवाहक रेल सेवाको भर्चुअल माध्यमबाट संयुक्त उद्घाटन गरिएको र यसले सामाजिक तथा धार्मिक सम्बन्धसँगै पर्यटन र जनस्तरीय सम्बन्ध प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

मन्त्री खनालले हाल एकतर्फी रूपमा रहेको काठमाडौँ–भैरवा–लखनउ हवाई मार्ग (बी ३४५) लाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएको, भैरवामाथिको हवाई पहुँच मार्ग नेपालले दुवै तर्फबाट प्रयोग गर्न पाउने सहमति भएको छ भने बागडोग्रा लगायत अन्य मार्ग वा सैन्य गतिविधिबारे कुनै सहमति नभएको प्रष्ट पारेका छन् ।

भारतले नेपालको विकास यात्रामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै भारतीय रुपैयाँ १५ हजार करोड (करिब नेपाली रुपैयाँ २ खर्ब ४० अर्ब) बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको उनले बताए ।

जसअन्तर्गत विपद्पछिको पुनर्निर्माण, नयाँ पूर्वाधार र ऊर्जा परियोजनाका लागि ३ हजार ५ सय करोड भारु (करिब ५६ अर्ब नेरु) अनुदान सहायता तथा ऊर्जा क्षेत्रका परियोजनाका लागि भारतीय मुद्रामा आधारित ‘लाइन अफ क्रेडिट’ अन्तर्गत ११ हजार ५ सय करोड भारु (करिब १ खर्ब ८४ अर्ब नेरु) ऋण सुविधा उपलब्ध हुनेछ ।

‘यस भ्रमणका क्रममा दार्चुला जोड्ने मोटरेबल पुलको संयुक्त उद्घाटन तथा वनबासामा एकीकृत जाँच चौकी (आईसीपी)को शिलान्यास गरिएको छ । ऊर्जा सहकार्यअन्तर्गत इनरुवा–न्यू पूर्णिया र दोदोधारा–बरेली प्रसारण लाइन निर्माणका लागि जोइन्ट भेन्चरमार्फत अघि बढ्ने सहमति र तल्लो अरुण जलविद्युत आयोजनाको संयुक्त शिलान्यास सम्पन्न भएको छ । साथै, मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन र झापा–सिलगढी पेट्रोलियम पाइपलाइनको शिलान्यास गरिएको छ भने पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रूप दिन सम्बन्धित निकायलाई निर्देशन दिने सहमति भएको छ’, उनले भनेका छन् ।

नेपालमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीको अफसोर क्याम्पस स्थापना गर्ने निर्णय भएको छ भने भारतीय प्रधानमन्त्रीले ‘गति शक्ति’ राष्ट्रिय बहुआयामिक सम्पर्क गुरुयोजनाबारे प्रस्तुतीकरण गरेका थिए । प्राकृतिक प्रकोप व्यवस्थापन, फोरेन्सिक विज्ञान, प्राज्ञिक सहकार्य, डिजिटलाइजेसन, दिगो सहरी विकास, स्वास्थ्य तथा आयुर्वेदरपरम्परागत औषधि, पशुपालन तथा मत्स्यपालन र दक्षिण एसिया स्याटेलाइट उपयोग लगायतका क्षेत्रमा सहकार्य गर्न आठ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सीमाका विषयमा संयुक्त स्थलगत निरीक्षण र सीमा स्तम्भ मर्मत–सम्भारमा भएको प्रगतिको समीक्षा गर्दै प्राविधिक तहको छलफललाई उच्च तहमा लैजान परराष्ट्र तथा विदेश सचिवहरूलाई निर्देशन दिइएको, नेपाल–भारत बिजनेस राउन्ड टेबललाई सम्बोधन गर्दै अर्थमन्त्रीले नेपालको आर्थिक विकास र गतिविधि विस्तारमा लगानी गर्न आह्वान गरेको मन्त्री खनालले जनाएका छन् ।

सीमा विवादको उच्च तहमा समझदारी भएको छ । इपिजी लगायतका समझदारी दुई पक्षको समझदारीमा गरिने उनले जनाए ।

प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com