काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुराना राजनीतिक दल र नेताहरूले ३५ वर्षमा केही नगरेको भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पार्ने काम भएको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासंघ केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सामाजिक सञ्जालका अल्गोरिदममार्फत पुराना दल र नेताहरूले गरेका कामबारे गलत धारणा निर्माण गर्ने प्रयास भइरहेको दाबी गरे ।
‘साम्राज्यवादी अमेरिकी दलालहरूले पुराना पार्टी र नेताहरूले ३५ वर्षमा केही पनि गरेनन्, सबै बिगार्ने काम मात्रै गरे भनेर एउटा भाष्य बनाएका छन्,’ उनले भने, ‘जनताको दिमागमा अल्गोरिदममार्फत यस्तो म्यानिपुलेसन र षड्यन्त्र गरिएको छ कि हामीले एउटै राम्रो काम गरेनौँ जस्तो देखाइएको छ ।’
प्रचण्डले मुलुकमा पूर्वाधार विकासका क्षेत्रमा पुराना राजनीतिक नेतृत्वकै पालामा महत्वपूर्ण निर्णय भएको दाबी गरे । मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोर, मदन भण्डारी राजमार्ग तथा हुलाकी मार्ग निर्माण र विस्तारका निर्णय त्यसैको उदाहरण भएको उनको भनाइ थियो ।
‘मध्यपहाडी लोकमार्ग निर्माण गर्ने निर्णय कसले गरायो ? उत्तर–दक्षिण करिडोर बनाउने निर्णय कसले गर्यो ? मदन भण्डारी राजमार्ग बनाउने कुरा कसले गर्यो ? तराईमा हुलाकी मार्गलाई अगाडि बढाउने काम कसले गर्यो ?’ उनले प्रश्न गरे ।
मध्यपहाडी लोकमार्गको अवधारणा तथा कार्यान्वयनबारे प्रचण्डले विगतमा पनि आफू नेतृत्वको सरकारले महत्वपूर्ण निर्णय गरेको दाबी गर्दै आएका छन्। सरकारी अभिलेखअनुसार मध्यपहाडी लोकमार्गको आयोजना कार्यान्वयन २०६४/६५ देखि अघि बढाइएको हो भने २०६६ सालमा यसको रेखांकन स्वीकृत भएको थियो।
ऊर्जा क्षेत्रमा समेत महत्वपूर्ण काम भएको प्रचण्डको दाबी थियो । नेपालमा ऊर्जा उत्पादन बढाउने र विद्युत् निर्यातको अवधारणा अघि बढाउनुपर्नेमा जोड दिँदै उनले लोडसेडिङ अन्त्यको विषय पनि उठाए ।
‘ऊर्जा हाम्रो लागि ठूलो सम्पत्ति हो भनेर देशभित्र ऊर्जा क्रान्ति गर्नुपर्छ कसले भन्यो ? १० हजार मेगावाट विद्युत् निर्यातको कुरा मात्र होइन, नेपालमा लोडसेडिङ अन्त्य कसले गर्यो ?’ उनले भने ।
प्रचण्डले पुराना तथा स्थापित राजनीतिक दलहरूले मुलुक निर्माणमा गरेको योगदानलाई बेवास्ता गर्न नहुने बताए । साथै, आफूहरूले गरेका कामको प्रचार–प्रसार गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
‘हामीले गरेका काम जनतासम्म लैजानुपर्छ,’ उनले नेता–कार्यकर्तालाई आग्रह गर्दै भने ।
प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार











प्रतिक्रिया