काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला संग्रौलाले भन्सार अधिकृतले सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) लाई धम्की दिएको भनिएको अडियो प्रकरणबारे तत्काल छानबिन गर्न सरकारसँग माग गरेकी छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले भन्सार अधिकृतले सुरक्षा अधिकारीलाई अपशब्द प्रयोग गर्दै धम्कीपूर्ण अभिव्यक्ति दिएको विषय गम्भीर रहेको बताइन्।
उनले कानुनी मर्यादा, प्रशासनिक अनुशासन र ‘चेन अफ कमान्ड’को सीमासमेत उल्लंघन हुने गरी गृह मन्त्रालय तथा सुरक्षा निकायका उच्च अधिकारीलाई लक्षित गरेर अभिव्यक्ति दिइएको विषयमा सरकारले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने बताइन्।
‘एउटा भन्सार अधिकृतले गृहमन्त्रीलाई समेत स्वाट्टै हान्छु भन्दै कानुनी मर्यादा र चेन अफ कमान्डको धज्जी उडाउने दुस्साहस कसरी गर्न सक्छन् ?’ उनले प्रश्न गरिन्।
संग्रौलाले सुरक्षा निकायका अधिकारीलाई सार्वजनिक रूपमा धम्की दिने र अमर्यादित भाषा प्रयोग गर्ने कार्य कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताइन्।
यस्ता घटनाले राष्ट्रिय सुरक्षा निकाय तथा निजामती सेवाको मर्यादामाथि प्रश्न उठाउनुका साथै राज्य संयन्त्रप्रतिको विश्वास र संस्थागत छविमा समेत असर पार्न सक्ने उनको भनाइ थियो।
राजस्व संकलन तथा राष्ट्रिय सुरक्षाका दृष्टिले संवेदनशील सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको मनोबल कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य हुन नसक्ने उनले बताइन्।
सांसद संग्रौलाले अडियो प्रकरणको तत्काल निष्पक्ष छानबिन गरी घटनाको वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरिन्। छानबिनका क्रममा सम्बन्धित भन्सार अधिकृत दोषी देखिए कानूनबमोजिम कारबाही गर्नसमेत उनले आग्रह गरिन्।
प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया