काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण काठमाडौं उपत्यका जोड्ने तीनसहित सात राष्ट्रिय राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्।
सडक विभागका अनुसार पृथ्वी, बिपी र कान्ति राजमार्गसहित राप्ती राजमार्ग तथा बेँसीसहर–चामे सडकका विभिन्न खण्डमा यातायात पूर्णरूपमा रोकिएको छ।
पृथ्वी राजमार्गको धादिङका विभिन्न स्थान, बिपी राजमार्गका एक दर्जनभन्दा बढी खण्ड तथा कान्ति राजमार्गमा पहिरो र बाढीले सडक अवरुद्ध भएको छ। राप्ती राजमार्गको कपुरकोट–खारखोला–टुनीकोट र बेँसीसहर–चामे सडकको मनाङ खण्डसमेत बन्द छ।
अन्य प्रमुख राजमार्गका विभिन्न स्थानमा भने एकतर्फी तथा आंशिक रूपमा यातायात सञ्चालनमा रहेको विभागले जनाएको छ। अवरोध हटाउन उपकरण र प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार















प्रतिक्रिया