काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको राजनीतिक अभ्यासप्रति व्यंग्य गर्दै केही मान्यतामा फरक नभएको भए आफू पनि कांग्रेसमा हुने बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले निष्ठा, समानुपातिक अवसर र राजनीतिक स्वतन्त्रताको विषय उठाउँदै कांग्रेसमाथि व्यंग्य गरेका हुन्।
उनले भने, ‘निष्ठालाई पुँजी मानेको भए, भौतिक पुँजीलाई मानक नमानेको म पनि कांग्रेस हुन्थेँ होला। पिछडिएको मानिसलाई समानुपातिक भनिरहँदा अवसर पाएकोलाई प्राथमिकता नदिएको भए मै पनि कांग्रेस हुन्थेँ होला।’
लामिछानेले राजनीतिक दलहरूले आफ्ना समर्थक तथा कार्यकर्तालाई अन्य दलका चुनाव चिह्नमा मतदान गर्न निर्देशन दिने प्रवृत्तिमाथि पनि प्रश्न उठाए।
‘अरूको चुनाव चिह्नमा भोट हाल भनेर उर्दी जारी नगरेको भए म पनि कांग्रेस हुन्थेँ होला,’ उनले भने।
उनले नेपाली कांग्रेसको सबैभन्दा ठूलो शक्ति र कमजोरी दुवै उसको इतिहास रहेको टिप्पणी गरे। इतिहासले कांग्रेसलाई राजनीतिक रूपमा स्थापित गरेको भए पनि त्यही इतिहास उसका लागि चुनौतीको विषयसमेत बन्न सक्ने उनको भनाइ थियो।
प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार











प्रतिक्रिया