काठमाडौं । सरकारले नागरिक लगानी कोषको पूँजी वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ। साथै कोषको लगानी क्षेत्र र कार्यक्षेत्र विस्तार गर्दै निजी इक्विटी तथा भेन्चर क्यापिटलमा समेत लगानी गर्न सक्ने कानुनी व्यवस्था गर्न लागिएको छ।
नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधिसभाको अर्थ समितिमा भएको सैद्धान्तिक छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार बदलिँदो आर्थिक परिवेशअनुसार कोषलाई आधुनिक वित्तीय उपकरण र नयाँ लगानीका क्षेत्रमा प्रवेश गराउने उद्देश्यले कानुन संशोधन गर्न लागिएको हो। यसका लागि डिबेन्चर, ऋणपत्र तथा धितोपत्रसम्बन्धी परिभाषा परिमार्जन गर्नुका साथै मुद्दती निक्षेप, सरकारी सुरक्षणपत्र र अन्य वित्तीय उपकरणलाई पनि लगानीको दायरामा समेट्ने प्रस्ताव गरिएको छ।
विधेयकमा कोषको पूँजी संरचनामा समेत परिवर्तन प्रस्ताव गरिएको छ। हाल ८ अर्ब रुपैयाँ रहेको पूँजीलाई १० अर्ब पुर्याउने, सेयर कित्ता ८ करोडबाट बढाएर १० करोड पुर्याउने तथा चुक्ता पूँजी ३ अर्बबाट वृद्धि गरी ६ अर्ब ८० करोड रुपैयाँ कायम गर्ने प्रस्ताव गरिएको अर्थमन्त्री वाग्लेले बताए।
त्यस्तै, कोषको लगानी पूर्वाधार, उत्पादनमूलक उद्योग तथा आवास क्षेत्रमा विस्तार गर्ने सरकारको योजना छ। मध्यम वर्गको आर्थिक अवस्था सुदृढ बनाउन शिक्षा, स्वास्थ्य, रोजगारी, आधुनिक सेवा र आवासका क्षेत्रमा लगानीलाई प्राथमिकता दिनुपर्नेमा मन्त्री वाग्लेले जोड दिए।
विधेयकले कोषको सञ्चालक समिति र कार्यकारी व्यवस्थापनको जिम्मेवारीसमेत स्पष्ट पार्ने लक्ष्य राखेको छ। संस्थागत सुशासन, पारदर्शिता र जोखिम व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल बनाउने प्रस्ताव पनि विधेयकमा समेटिएको उनले जानकारी दिए।
कोषलाई परम्परागत लगानीका क्षेत्रबाट बाहिर निकाल्दै नयाँ वित्तीय उपकरण र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सक्षम बनाउने गरी विधेयक अघि बढाइएको सरकारको भनाइ छ।
प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार













प्रतिक्रिया