काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीश डा. रत्नबहादुर बागचन्दको एकल इजलासले आनी छोइङलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्नुको आधार र कारणसहित लिखित जवाफ पेस गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी विकास कोषलगायत विपक्षीका नाममा आदेश जारी गरेको हो।
जेनजी अगुवा सुनिल सिंहसमेत निवेदक रहेको उत्प्रेषणसम्बन्धी रिटमाथि सुनुवाइ गर्दै अदालतले विपक्षीहरूलाई बाटोको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत वा आफैँ अथवा कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनेको छ। साथै, रिट निवेदन र आदेशको प्रतिलिपिसमेत विपक्षीहरूलाई उपलब्ध गराई नियमानुसार जवाफ पेस गर्न आदेशमा उल्लेख छ।
त्यस्तै, रिट निवेदकले नियुक्ति बदरको मागसहित अन्तरिम आदेशसमेत माग गरेकाले त्यस विषयमा छलफल गर्न अदालतले दुवै पक्षलाई बोलाएको छ। अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने निष्कर्षमा पुग्नुअघि दुवै पक्षको धारणा सुन्न उपयुक्त देखिएको भन्दै आगामी मंसिर १९ गतेका लागि छलफलको पेसी तोकिएको आदेशमा उल्लेख छ।
आनी छोइङ डोल्मालाई सार्वजनिक पदमा नियुक्त गरिएको विषयमा उनको नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको भन्दै नियुक्तिको कानुनी वैधतामाथि प्रश्न उठाइएको थियो। सोही विषयलाई आधार बनाएर सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको हो।
रिटमा उठाइएका प्रश्नमाथि सर्वोच्च अदालतले तत्काल नियुक्ति बदर गर्ने वा रोक लगाउने आदेश भने दिएको छैन। अदालतले सरकारसहित सम्बन्धित विपक्षीबाट लिखित जवाफ माग्नुका साथै अन्तरिम आदेशको मागबारे दुवै पक्षबीच छलफल गर्ने प्रक्रिया अघि बढाएको हो।
यससँगै आनी छोइङको नियुक्ति विवाद अब सर्वोच्च अदालतको न्यायिक परीक्षणमा प्रवेश गरेको छ। आगामी मंसिर १९ गते हुने छलफल र त्यसपछि अदालतबाट आउने आदेशले नियुक्तिको वैधानिकतासम्बन्धी विवादमा थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार













प्रतिक्रिया