काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका अधिवेशन तथा महाधिवेशनलाई नेतृत्व चयन र प्रतिस्पर्धामा मात्र सीमित नराखी संगठनलाई एकताबद्ध बनाउने अवसरका रूपमा उपयोग गर्न आग्रह गरेका छन्।

नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत पर्सा जिल्ला अधिवेशनको उद्घाटन गर्दै महाधिवेशन तयारी समितिका संयोजक कोइरालाले नेतृत्वका लागि प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि त्यसले पार्टीभित्र विभाजन ल्याउन नहुने बताएका हुन्।

उनले वडादेखि केन्द्रसम्मका अधिवेशनलाई पार्टी एकता बलियो बनाउने अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

‘पार्टी अधिवेशन र महाधिवेशनमा नयाँ नेतृत्व चयन हुन्छ, प्रतिस्पर्धा हुन्छ। यो स्वाभाविक हो। तर हामीले अधिवेशन र महाधिवेशनलाई पार्टीलाई एकताबद्ध गराउने अवसरका रूपमा लिनुपर्छ,’ उनले भने।

कांग्रेसभित्र एकता कायम रहन सके कुनै पनि शक्तिले पार्टीलाई पराजित गर्न नसक्ने उनको भनाइ थियो। पद सीमित हुने तर आकांक्षी धेरै हुने भएकाले प्रतिस्पर्धापछि पनि सबै नेताकार्यकर्ताबीच सहकार्य र सहयोगको वातावरण बनाउनुपर्ने उनले बताए।

‘कांग्रेस एकताबद्ध भए कसैको तागतले हराउन सक्दैन। पद एउटा हुन्छ, आकांक्षा राख्ने साथी धेरै हुन्छन्। हामीले अधिवेशनमा एकताबद्ध बनाउन सके सबैले सबैलाई सहयोग गर्ने वातावरण बन्छ,’ कोइरालाले भने।

आफ्नो भनाइलाई पुष्टि गर्न उनले २०३३ सालमा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्कने निर्णय गर्दाको प्रसंगसमेत स्मरण गरे।

त्यतिबेला गणेशमान सिंह बीपीको नेपाल फर्कने निर्णयसँग सहमत नभए पनि अन्ततः नेताको निर्णय स्वीकार गरेर नेपाल फर्किएको उनले उल्लेख गरे।

‘बीपीको नेपाल फर्कने निर्णयमा गणेशमानजी सहमत हुनुहुन्नथ्यो। तर बीपीले नेपाल फर्कने निर्णय गरेपछि गणेशमानजीले बीपी मेरो नेता हो, उहाँले निर्णय गरेपछि मैले मान्नु मेरो दायित्व हो भन्दै नेपाल फर्कनुभयो,’ उनले भने।

प्रकाशित मिति: १० मंसिर २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com