मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ बाद्रेभीरस्थित हेटौँडा–भैँसे सडकखण्डमा ईभी भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

आइतबार दिउँसो काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको भाडाको ईभी भ्यान सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएर बायाँतर्फको नालामा खसेको थियो।

दुर्घटनामा रौतहटको दुर्गा भगवती गाउँपालिका–१ का ३२ वर्षीय राजेश साह, भारतको बिहारस्थित मोतिहारी जिल्लाका ३४ वर्षीय सर्फे आलम, रौतहटकै दुर्गा भगवती गाउँपालिका–१ पिपराटोलका ५० वर्षीय हरि साह, उनकी २६ वर्षीया छोरी चन्दा कुमारी साह र २३ वर्षीया छोरी शिवा कुमारी साह घाइते भएका छन्। हरि साहका पाँच वर्षीय नाति आर्यन साह पनि घाइते भएका छन्।

त्यस्तै, रौतहटको चन्द्रपुर नगरपालिका–११ पडरियाटोलकी २४ वर्षीया सबिता कुमारी चौधरी, यमुनामाई गाउँपालिका–४ यादवटोलका १९ वर्षीय राहुल ठाकुर र धमनीमाई नगरपालिका–४ का १६ वर्षीय विजय कुमार ठाकुर पनि दुर्घटनामा घाइते भएका छन्।

प्रहरीका अनुसार राजेशको बायाँ खुट्टा, सर्फे आलमको नाक र बायाँ काँध, हरि साहको मुख, सबिताको बायाँ कोखा, राहुलको मुख तथा विजयको टाउको र दाहिने खुट्टामा चोट लागेको छ। चन्दा, शिवा र आर्यनको शरीरमा भित्री चोट लागेको विवरणमा उल्लेख छ।

घाइतेहरूलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। हरि साहको अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। परिवारका अन्य सदस्य पनि उनीसँगै चितवन गएको विवरणमा उल्लेख छ।

दुर्घटनापछि ईभी भ्यान घटनास्थलमै रहेको छ भने चालक फरार भएकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाका कारण सडक अवरुद्ध नभएको र गाडीधनी शिवकान्त झासँग सम्पर्क भएको पनि प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: २ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com