काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले इतिहासमा खेलेको भूमिकालाई कमजोर देखाउने प्रयास भइरहेको भन्दै त्यसका बाबजुद देशमा पुनः नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्।
राष्ट्रिय जागरण अभियानका सन्दर्भमा बोल्दै दाहालले जनयुद्धको सुरुवातदेखि गणतन्त्र स्थापनासम्मको राजनीतिक यात्राबारे चर्चा गरेका हुन्। उनले जनयुद्ध सुरु गर्दा आफूहरूसँग ६० जना मात्रै रहेको र क्रमशः जनसमर्थन बढ्दै जाँदा मुलुक गणतन्त्रमा प्रवेश गरेको बताए।
उनले कार्ल मार्क्सको भनाइ उद्धृत गर्दै आलोचनाबाट विचलित नभई निर्धारित लक्ष्यतर्फ निरन्तर अघि बढ्नुपर्ने धारणा राखे।
‘तथाकथित आलोचनालाई तिमी वास्ता नगर, तिमी आफ्नो लक्ष्यमा निरन्तर अगाडि बढ, सफलता तिमीले प्राप्त गर्नेछौ,’ मार्क्सको भनाइ उद्धृत गर्दै उनले भने।
दाहालले जनताको बीचमा जाने, उनीहरूका मुद्दा उठाउने र जनताकै निम्ति संघर्ष गर्ने विश्वासका साथ आफूहरू राजनीतिक यात्रामा अघि बढेको बताए। जनताको साथ प्राप्त हुने विश्वासले नै आफ्नो यात्रा निरन्तर अगाडि बढेको उनको भनाइ थियो।
उनले जनयुद्ध सुरु गर्दाको ६० जनाको समूह क्रमशः ६ हजार, ६ लाख हुँदै ६० लाख पुगेको दाबी गरे। यही संघर्षको परिणामस्वरूप नेपाल गणतन्त्रमा प्रवेश गरेको उनले उल्लेख गरे।
‘जम्मा ६० जना थियौँ हामी त्यतिबेला जनयुद्ध सुरु गर्ने बेलामा । त्यो केही समयपछि ६ हजार भयो, त्यो ६ हजार केही समयपछि ६ लाख भयो, त्यो ६ लाख केही समयपछि ६० लाख भयो । त्यसपछि नेपालै गणतन्त्रमा पुग्यो,’ उनले भने।
संयोजक दाहालले पछिल्लो समय आफ्नो पार्टी र इतिहासमा त्यसले खेलेको भूमिकालाई कम आँक्ने प्रयास भइरहेको टिप्पणी गरे। विचारको महत्व र राजनीतिक परिवर्तनमा पार्टीले पुर्याएको योगदानलाई पूर्ण रूपमा निषेध गर्न खोजिएको उनको आरोप थियो।
‘आज पनि हामीलाई खुब हेपेर भन्ने गरेका छन् । विचारको महत्व, त्यो इतिहासको भूमिका, इतिहासमा खेलेको भूमिकालाई पूरै माइनस गर्न खोजिएको छ,’ उनले भने।
यस्ता आलोचना र प्रयासका बाबजुद देशको राजनीतिक परिस्थितिमा फेरबदल आउने दाबी गर्दै दाहालले भने, ‘हेर्नुहोला, केही समयपछि देशमा फेरि एउटा नयाँ परिस्थिति बन्नेछ।’
प्रकाशित मिति: ८ कार्तिक २०८३, शनिबार












प्रतिक्रिया