कर्णाली। कर्णालीका पाँच हिमाली जिल्ला हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका उच्च भूभागमा हिमपात र वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिकाअन्तर्गत हिल्सा, लिमी र लाप्चा जाने बाटो अवरुद्ध भएको छ।

डोल्पाको शे–फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकामा हिमपात भइरहेको छ। त्यस्तै, हुम्लाको नाम्खा, मुगुको मुगुम कार्मारोङ, जुम्लाको पातारासी, तातोपानी र कनकासुन्दरी गाउँपालिका तथा कालीकोटको तिलागुफा नगरपालिकाका उच्च क्षेत्रमा पनि हिमपात भएको स्थानीयले बताएका छन्।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार तल्लो डोल्पामा वर्षा र माथिल्लो डोल्पामा हिमपात भइरहेको छ। मौसम प्रतिकूल बनेपछि कात्तिक १२ गतेदेखि माथिल्लो डोल्पामा पदयात्रीलाई जान रोक लगाइएको छ। यसअघि त्यहाँ पुगेका पदयात्रीको अवस्थाबारे पनि जानकारी लिने काम भइरहेको उनले बताइन्।

सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासनले सुरक्षा निकाय, स्वास्थ्य संस्था, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी उद्धार र राहतका लागि तयारी अवस्थामा रहेको जनाएको छ।

मुगुका प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीका अनुसार शुक्रबार साँझ ५ बजेदेखि लगातार मध्यम वर्षा भइरहेको छ। पहिरोको जोखिम बढेपछि शनिबारका लागि सवारी आवागमन रोक्न प्रहरी परिचालन गरिएको उनले बताए। जिल्लामा टेलिफोन नेटवर्क र प्रहरी सञ्चारसमेत प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उनले जानकारी दिए।

यता, हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले हिमपातका कारण नाम्खा गाउँपालिकाको हिल्सा, लिमी र लाप्चा जाने बाटो बन्द भएको बताए। जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा व्यवस्थापन गरिएको र खोज तथा उद्धारका लागि सुरक्षा निकाय, रेडक्रस, स्वास्थ्य संस्था तथा स्थानीय तहलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।

मौसम प्रतिकूल रहेकाले हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटक तथा स्थानीय बासिन्दालाई सतर्कता अपनाउन र प्रशासनको सूचनाबिना जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरिएको छ।

प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com