काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले शेरबहादुर देउवा नेतृत्वको समूह नै पार्टीको विधि र विधानअनुसार आधिकारिक रहेको दाबी गरेका छन् । उनले १४औँ महाधिवेशनबाट निर्वाचित देउवा नै कांग्रेसको वैधानिक सभापति भएको जिकिर गरेका हुन् ।
देउवा पक्षको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार भेटघाटमा महतले पार्टी सभापतिबाट देउवालाई हटाउन विधानअनुसार दुईतिहाइ बहुमत आवश्यक पर्ने बताए ।
‘१४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नै अहिले पनि पार्टीको सभापति हुनुहुन्छ । उहाँलाई हटाउन दुईतिहाइ चाहिन्छ,’ उनले भने, ‘कुनै प्रक्रिया पूरा नगरी उहाँहरूलाई आधिकारिकता दिइएको अवस्था थियो ।’
पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा पुनरवलोकनको प्रक्रियामा रहेको जानकारी दिँदै महतले देउवा पक्षले आफ्नै तर्फबाट सांगठनिक गतिविधि र अधिवेशनलाई निरन्तरता दिएको बताए ।
उनका अनुसार देउवा पक्षले हालसम्म २२८ प्रदेशसभा निर्वाचन क्षेत्र र ११४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गरिसकेको छ । त्यस्तै, २६ जिल्लामा पनि अधिवेशन पूरा भएको उनले जानकारी दिए ।
छोटो समयमै अधिवेशनको प्रक्रिया अघि बढाउनुपरे पनि देशभर नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको महतको दाबी छ । पार्टीबाट कुनै आर्थिक तथा भौतिक स्रोतसाधन उपलब्ध नगराइए पनि कार्यकर्ताले आफ्नै खर्चमा अधिवेशनमा भाग लिएको उनले बताए ।
‘कुनै साधनस्रोत दिइएको छैन । अधिवेशन भएका ठाउँमा साथीहरू आफ्नै स्रोतसाधन प्रयोग गरेर सहभागी हुनुभएको छ,’ उनले भने ।
महतले देउवा पक्ष आफूलाई कांग्रेसको मूल विचार, मान्यता र विधिको पक्षमा उभिएको समूहका रूपमा प्रस्तुत गर्दै सांगठनिक गतिविधि अघि बढाइरहेको बताए ।
प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार












प्रतिक्रिया