काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य ज्ञानेन्द्र शाहीले प्रहरी र सरकारबीच देखिएको तनाव तथा पछिल्लो समय सार्वजनिक भएका विवादास्पद घटनाबारे छलफल गर्न समितिको बैठक तत्काल बोलाउन माग गरेका छन् ।

समितिका सभापति हरि ढकाललाई पत्र लेख्दै शाहीले नेपाल प्रहरीका महानिरीक्षक र सरकारबीचको तिक्तता, पत्रकार पक्राउ, राज्यशक्तिको दुरुपयोग तथा प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनको निवासमा प्रहरी हिरासतमा रहेका व्यक्तिको मोबाइल फोन जफत गरिएको घटनाबारे समितिको ध्यानाकर्षण गराएका हुन् ।

यी घटनाले सुशासन र कानुनी शासनको अवस्थामाथि प्रश्न उठाएको उल्लेख गर्दै उनले संसदीय समितिमार्फत तत्काल छलफल र आवश्यक छानबिन हुनुपर्ने बताएका छन् ।

शाहीले प्रस्तावित बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र नेपाल प्रहरीका महानिरीक्षकलाई अनिवार्य उपस्थित गराउन पनि माग गरेका छन् । सम्बन्धित पदाधिकारीलाई घटनाबारे स्पष्ट जवाफ दिने व्यवस्था मिलाउन उनले सभापतिसमक्ष आग्रह गरेका छन् ।

राज्य व्यवस्था र सुशासनसँग प्रत्यक्ष सम्बन्धित विषयमा संसदीय समितिले आफ्नो निगरानी तथा जवाफदेहिताको भूमिका प्रभावकारी बनाउनुपर्ने शाहीको भनाइ छ ।

पछिल्लो समय प्रहरी नेतृत्व र सरकारबीचको सम्बन्ध, अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका व्यक्तिको मोबाइलमा अन्य निकायको पहुँच तथा पत्रकारमाथि भएको प्रहरी कारबाही विवादमा छन् । शाहीले यी विषयमा संसदीय तहबाट छलफल र छानबिनको माग गरेका हुन् ।

प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This