काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधिको विकास र विस्तारित भूमिकालाई सम्बोधन गर्ने गरी नयाँ कानुन निर्माण गर्न लागिएको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मंगलबार बसेको बैठकमा चलचित्र विधेयक, २०८१ माथिको दफावार छलफलमा सहभागी हुँदै उनले चलचित्रलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी कला, संस्कृति, भाषा, सिर्जनशीलता र आर्थिक विकासको महत्त्वपूर्ण उद्योगका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताए ।

मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको आवश्यकता र सम्भावना समयसँगै परिवर्तन भएकाले पुरानो कानुनी व्यवस्थालाई परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गरे । चलचित्र क्षेत्रका विद्यमान समस्या समाधान गर्दै यसको व्यावसायिक विकास र विस्तारमा सहयोग पुग्ने गरी नयाँ कानुन ल्याइने उनको भनाइ छ ।

उनले चलचित्रको सेन्सर र वर्गीकरणसम्बन्धी व्यवस्थालाई स्पष्ट बनाउनुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरी कुन विषयमा सेन्सर आवश्यक हुन्छ र कुन विषयलाई उमेर तथा विषयवस्तुका आधारमा वर्गीकरण गरेर व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरा कानुनमै स्पष्ट हुनुपर्ने उनले बताए ।

‘हामीले चाहेको सेन्सर हो कि वर्गीकरण हो भन्ने विषयमा कानुन स्पष्ट हुनुपर्छ । अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरेर कुन विषयमा सेन्सर गर्नुपर्छ र कुन विषयलाई वर्गीकरण गरे पुग्छ भन्ने छुट्याउन सक्नुपर्छ,’ उनले भने ।

त्यस्तै, चलचित्र विकास बोर्डको उद्देश्य, भूमिका, अधिकार र नेतृत्वसम्बन्धी व्यवस्था पनि नयाँ कानुनमा स्पष्ट हुनुपर्ने मन्त्री तिमिल्सिनाको धारणा छ । बोर्डलाई प्रभावकारी रूपमा काम गर्न सक्ने संस्थाका रूपमा विकास गर्न आवश्यक स्वायत्तता, अधिकार र संस्थागत क्षमता प्रदान गर्नुपर्ने उनले बताए ।

चलचित्र क्षेत्रसँग सम्बन्धित संघ, प्रदेश र स्थानीय तहका अधिकार तथा जिम्मेवारीसमेत स्पष्ट रूपमा निर्धारण गर्नुपर्ने उनले उल्लेख गरे । तीनै तहका सरकारबीच अधिकारको दोहोरोपन र अनावश्यक हस्तक्षेप हुन नदिन संघीय कानुनमै जिम्मेवारी बाँडफाँट स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।

मन्त्री तिमिल्सिनाले चलचित्र उद्योगमा विदेशी लगानी आकर्षित गर्ने, राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान बढाउने र चलचित्रकर्मीका अपेक्षा सम्बोधन गर्ने गरी विधेयकलाई परिष्कृत गरिने बताए ।

‘करिब छ दशकपछि चलचित्र क्षेत्रका लागि नयाँ कानुन निर्माण गर्ने अवसर आएको छ । यसलाई क्षेत्रको अधिकतम हितमा उपयोग गर्नुपर्छ । चलचित्र क्षेत्रका समस्या समाधान गर्ने, संस्थागत क्षमता बलियो बनाउने र उद्योगको विकास तथा विस्तारमा सहयोग पुर्‍याउने व्यवस्था कानुनमा समेटिनुपर्छ,’ उनले भने ।

सरकारले विसं २०२६ देखि कार्यान्वयनमा रहेको पुरानो चलचित्र ऐनलाई प्रतिस्थापन गर्न चलचित्र विधेयक, २०८१ अघि बढाएको हो । विधेयकमा चलचित्र विकास बोर्डलाई थप स्वायत्त र अधिकारसम्पन्न बनाउने तथा चलचित्र निर्माण, वितरण र प्रदर्शन प्रक्रियालाई व्यवस्थित गर्ने प्रस्ताव गरिएको छ ।

त्यसैगरी, चलचित्र प्रदर्शनमा बक्स अफिस प्रणाली अनिवार्य गरी टिकट बिक्री, आम्दानी, कर, प्रदर्शन अवधि र दर्शकको रुचिसम्बन्धी विवरण पारदर्शी बनाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

विधेयकले चलचित्रकर्मीको श्रम अधिकार र सामाजिक सुरक्षा, मातृभाषाका चलचित्रको प्रवर्द्धन, आदिवासी जनजाति समुदायका कलात्मक तथा बौद्धिक चलचित्रको संरक्षण र स्वदेशी चलचित्रको बजार विस्तारलाई समेत समेटेको छ ।

विदेशी लगानी आकर्षित गर्ने, नयाँ प्रविधिको प्रयोगलाई व्यवस्थित बनाउने, नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य बनाउने तथा चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य पनि विधेयकमा राखिएको छ ।

समिति सभापति डा. ओजस्वी शेरचनले विधेयकका २६ वटा दफामा १२२ वटा संशोधन प्रस्ताव परेको जानकारी गराएका थिए । बैठकमा ती संशोधन प्रस्ताव प्रस्तुत गर्ने सांसदहरूसँग छलफलसमेत भएको थियो ।

प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com