काठमाडौं । वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै अस्तित्वमा आएको अहिलेसम्मकै सबैभन्दा टाढाको विशाल क्वासर पत्ता लगाएका छन्। प्रारम्भिक ब्रह्माण्डमा यति ठूलो ब्ल्याक होल फेला परेपछि वैज्ञानिकहरू आश्चर्यचकित भएका छन्।

जर्मनीको नेतृत्वमा रहेको अनुसन्धान टोलीले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार उक्त क्वासर ब्रह्माण्डको १३ अर्ब ८० करोड वर्ष लामो इतिहासको सुरुआती चरणमै बनेको थियो। यस खोजले प्रारम्भिक ब्रह्माण्डमा क्वासरको अस्तित्वसम्बन्धी यसअघिका अभिलेखसमेत तोडेको छ।

अनुसन्धान टोलीका प्रमुख तथा युरोपेली दक्षिणी वेधशालाका अनुसन्धानकर्ता जुलियन वुल्फका अनुसार यसअघिका खोजले क्वासरको निर्माण समय करिब डेढ करोड वर्षले मात्र पछाडि सारेका थिए। तर पछिल्लो खोजले उक्त समय करिब चार करोड वर्ष पछाडि पुर्‍याएको छ। उनले यसलाई झन्डै एक दशकयताकै महत्वपूर्ण उपलब्धि बताएका छन्।

युरोपेली अन्तरिक्ष एजेन्सीको युक्लिड टेलिस्कोपले सङ्कलन गरेका लाखौँ अवलोकनको विश्लेषण गर्ने क्रममा अनुसन्धानकर्ताहरूले उक्त क्वासर फेला पारेका हुन्। सन् २०२३ मा प्रक्षेपण गरिएको युक्लिड टेलिस्कोपले ब्रह्माण्डको विस्तारमा भूमिका खेल्ने डार्क म्याटर र डार्क इनर्जीबारे अध्ययन गर्न आकाशगङ्गाहरूको सर्वेक्षण गरिरहेको छ।

वैज्ञानिकहरूले उक्त क्वासरलाई करिब १३ अर्ब १० करोड वर्षअघिको अवस्थामा अवलोकन गरेका हुन्। त्यतिबेला ब्रह्माण्डको उमेर अहिलेको तुलनामा पाँच प्रतिशतभन्दा कम थियो। प्रारम्भिक ब्रह्माण्डमा क्वासर फेला पर्नु नै दुर्लभ मानिने भए पनि यसको केन्द्रमा रहेको ब्ल्याक होलको असाधारण ठूलो आकारले अनुसन्धानकर्ताको ध्यान थप खिचेको छ।

जेम्स वेब अन्तरिक्ष दूरबिनबाट प्राप्त विवरणअनुसार उक्त क्वासरलाई ऊर्जा प्रदान गर्ने ब्ल्याक होलको द्रव्यमान सूर्यको भन्दा करिब ३६ करोड गुणा बढी छ। ब्रह्माण्डको सुरुआती अवस्थामै ब्ल्याक होल यति विशाल आकारमा पुग्नु कसरी सम्भव भयो भन्ने प्रश्नले वैज्ञानिकहरूलाई थप अनुसन्धान गर्न प्रेरित गरेको छ।

वुल्फले आयरल्यान्डको अरान टापुमा रहेको प्रागैतिहासिक ढुङ्गे किल्ला ‘डन ओङ्हासा’को नामबाट उक्त क्वासरको नामकरण गरेका छन्। उक्त किल्लाले क्वासरले जस्तै अझै अन्वेषण गर्न बाँकी विशाल क्षितिजको सङ्केत गर्ने उनको भनाइ छ।

हबल र जेम्स वेब अन्तरिक्ष दूरबिनसहित पृथ्वी तथा अन्तरिक्षमा रहेका अन्य वेधशालाबाट समेत यस खोजको पुष्टि भएको छ। अध्ययनको निष्कर्ष ‘एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको छ।

वुल्फका अनुसार बिग ब्याङपछि करिब ६३ करोड वर्षमै ब्ल्याक होल सूर्यको द्रव्यमानको ३६ करोड गुणासम्म कसरी पुग्यो भन्ने प्रश्नको उत्तर खोज्न प्रारम्भिक ब्रह्माण्डबारे थप अध्ययन आवश्यक छ। नयाँ खोजले यस क्षेत्रको अनुसन्धानका लागि नयाँ आधार तयार गरेको भए पनि यो अभिलेख केही महिनामै अर्को खोजले तोड्न सक्ने सम्भावना उनले औँल्याएका छन्।

प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com