काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेनले बिचौलिया इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणका लागि पठाउनुअघि दुई दिनसम्म आफूसँग राखेको भन्ने विषयमा सरकारलाई आधिकारिक जानकारी नभएको बताएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूले यसबारे प्रश्न गर्दा प्रवक्ता पोखरेलले आफूले पनि बाहिर हल्ला सुनेको तर त्यसको आधिकारिक पुष्टि नभएको जवाफ दिए ।

‘मलाई थाहा छैन । बाहिर कतै आएको हल्ला सुनेको हो, तर त्यसको आधिकारिक पुष्टि केही पनि छैन । हल्ला जसले जे भनिदिए पनि भइहाल्यो नि,’ उनले भने ।

उनले उक्त घटनामा कुनै अनियमितता भएको भए प्रहरी तथा सम्बन्धित अनुसन्धान निकायले छानबिन गर्ने बताए । सामाजिक सञ्जालमा आएका विवरणलाई आधिकारिक मान्न नमिल्ने उनको भनाइ थियो ।

प्रवक्ता पोखरेलले सरकार कुनै पनि अनुसन्धानमा कसैको पक्ष वा विपक्षमा नरहने स्पष्ट पारे । अनुसन्धानसँग सम्बन्धित आधिकारिक तथा गोप्य विवरण बाहिरिन नहुने उल्लेख गर्दै उनले त्यस्ता सूचना चुहिएको भए त्यसमा संलग्नको कमजोरी पहिचान गरी कारबाही अघि बढाउनुपर्ने बताए ।

‘कुनै पनि अनुसन्धान भइरहेको विषयका आधिकारिक र गोप्य कुरा बाहिर निस्किनु हुँदैन । बाहिरिएको भए कसको कमजोरीबाट बाहिरिएको हो, त्यसको कारबाही अगाडि बढ्नुपर्छ । अनुसन्धानको विषयमा सरकार पक्ष वा विपक्षमा हुँदैन । जे तथ्य हो, जे आधिकारिक हुन्छ, त्यही मान्य हुन्छ,’ उनले भने ।

प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This