काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। दुवै पक्षका कानुन व्यवसायीको बहस पूरा भएपछि अदालत आदेशको तयारीमा जुटेको छ।

बुधबार न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ भएको थियो। सुनुवाइका क्रममा सुरुमा सरकारी पक्ष र त्यसपछि कार्कीका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए।

बालेन नेतृत्वको सरकारले गत कात्तिक १८ गते कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णय गरेको थियो। त्यसपछि सरकारले डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो।

आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै कार्कीले सरकारको निर्णय कार्यान्वयन रोक्न मागसहित कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

बुधबारको सुनुवाइमा कार्कीका कानुन व्यवसायीहरूले सरकारको निर्णय प्रारम्भिक दृष्टिमै गैरकानुनी देखिने जिकिर गर्दै अन्तरिम आदेश जारी गर्न माग गरे।

कार्कीका पक्षबाट बहस गर्दै पूर्वमहान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रहरी महानिरीक्षकको पद सरकारको इच्छाअनुसार अन्यत्र खटाउन मिल्ने सामान्य पद नभएको तर्क गरे।

सरकारले कार्कीलाई पदबाट हटाएको नभई अर्को जिम्मेवारीमा खटाएको दाबी गरिरहँदा त्यसले मुलुकमा दुई जना प्रहरी महानिरीक्षक रहने अवस्था सिर्जना गर्ने उनको प्रश्न थियो। कानुनले निश्चित कार्यकाल तोकेको पदबाट अवधि पूरा नहुँदै हटाउन स्पष्ट र वस्तुनिष्ठ कानुनी आधार आवश्यक पर्ने उनले बताए। यससम्बन्धी सर्वोच्च अदालतका पुराना नजिरसमेत उनले इजलाससमक्ष प्रस्तुत गरे।

त्यस्तै, अधिवक्ता माधवकुमार बस्नेतले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउँदैमा कार्कीको साविकको आईजीपी पद स्वतः रिक्त नहुने तर्क गरे।

अधिवक्ता टीकाबहादुर कुँवरले कार्कीको कार्यकाल १८ महिना बाँकी रहँदै सरकारले नियोजित रूपमा पदबाट हटाएको दाबी गरे। उनले उक्त निर्णय प्रतिशोधपूर्ण रहेको जिकिर गर्दै हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्च अदालतले स्थापित गरेको नजिरलाई आधारका रूपमा प्रस्तुत गरे।

निश्चित कार्यकालका लागि नियुक्त पदाधिकारीलाई कानुनी प्रक्रिया र सहमतिबिना पदबाट हटाउन वा नयाँ सिर्जना गरिएको पदमा सरुवा गर्न नमिल्ने सर्वोच्चको व्याख्या रहेको उनले बताए।

प्रहरी महानिरीक्षक स्वयंले पनि सुरक्षा सल्लाहकारको भूमिका निर्वाह गर्ने भएकाले कार्कीलाई पुनः त्यही प्रकृतिको जिम्मेवारीमा नियुक्त गर्नुको कानुनी औचित्यमाथि समेत कुँवरले प्रश्न उठाएका थिए।

दुवै पक्षको बहस सकिएसँगै अब सर्वोच्च अदालतले रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे निर्णय सुनाउनेछ।

प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com