काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विगतमा देशलाई लोडसेडिङमुक्त बनाउन सफल भएको स्मरण गर्दै अब बेथिति, भ्रष्टाचार, अन्याय र निराशाको अँध्यारो हटाउने संकल्प व्यक्त गरेका छन्।
तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै घिसिङले २०७३ सालअघिको लोडसेडिङको अवस्थालाई स्मरण गरेका हुन्। उनले कुनै समय उज्यालोको पर्व तिहारसमेत अन्धकारमै मनाउनुपर्ने बाध्यता रहेको उल्लेख गरेका छन्।
आफूहरूप्रतिको साथ, विश्वास र दृढ संकल्पका कारण असम्भव मानिएको लोडसेडिङ अन्त्य गर्न सफल भएको उल्लेख गर्दै उनले अहिले देशका अधिकांश घरमा विद्युत् सेवा पुगेको र नेपाली बिजुली विदेशसम्म निर्यात हुन थालेको बताएका छन्।
‘हिजो बिजुलीको अँध्यारो हटायौँ, अब बेथिति, भ्रष्टाचार, अन्याय र निराशाको अँध्यारो हटाउने संकल्प छ,’ घिसिङले आफ्नो शुभकामना सन्देशमा भनेका छन्।
जस्तोसुकै चुनौती आए पनि आफ्नो यात्रा नरोकिने बताउँदै उनले अँध्यारोलाई सरापेर मात्र परिवर्तन सम्भव नहुने धारणा व्यक्त गरेका छन्। अँध्यारो हटाउन आफैँ दीप बनेर उज्यालो फैलाउनुपर्ने उनको भनाइ छ।
विगतमा प्राप्त साथ र विश्वासप्रति आभार व्यक्त गर्दै घिसिङले सुशासन, सामाजिक न्याय र समृद्ध नेपाल निर्माणको अभियानमा पनि नागरिकको निरन्तर साथ र सहयोगको अपेक्षा गरेका छन्।
‘हरेक घरमा खुसी, हरेक मनमा आशा र हरेक नेपालीको जीवनमा समृद्धिको उज्यालो छाओस्,’ उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।
प्रकाशित मिति: २२ कार्तिक २०८३, आइतबार













प्रतिक्रिया