काठमाडौं । अमेरिकी प्रतिबन्धमा रहेको रुसी सैन्य विमान नोभेम्बर ८ मा इजरायलको बेन–गुरियन विमानस्थलमा अवतरण गरेको छ। विमानमा रुसी सैन्य गुप्तचर निकाय जीआरयूका प्रमुख एडमिरल इगोर कोस्त्युकुभ नेतृत्वको प्रतिनिधिमण्डल सवार थियो।

इजरायली सञ्चारमाध्यम केएएनका अनुसार रुसी अधिकारीहरू अमेरिकी अनुरोधमा इजरायली सुरक्षा अधिकारीहरूसँग छलफल गर्न पुगेका थिए। द जेरुसेलम पोस्टले पनि रुसी टोलीले वरिष्ठ इजरायली रक्षा अधिकारीहरूसँग भेट गरेको जनाएको छ। तर भेटवार्ताको उद्देश्य र छलफलका विषय सार्वजनिक भएका छैनन्।

आरए–८५०४२ दर्ता नम्बरको टीयू–१५४एम विमान रुसी रक्षा मन्त्रालयको २२३औँ फ्लाइट युनिटअन्तर्गत पर्छ। यो युनिटले वरिष्ठ सरकारी अधिकारी तथा सैन्य प्रतिनिधिमण्डललाई ओसारपसार गर्छ। अमेरिकाले सन् २०२३ मे १९ देखि उक्त विमानसहित युनिटका ३६ विमानमाथि प्रतिबन्ध लगाएको थियो। वाग्नर ग्रुपका कर्मचारी र उपकरण ओसारपसार गरेको आरोपमा प्रतिबन्ध लगाइएको अमेरिकी पक्षको भनाइ छ।

रुसले इरानसँग रणनीतिक साझेदारी कायम राखे पनि इजरायलसँगको सम्बन्ध पूर्ण रूपमा विच्छेद गरेको छैन। सन् २०१५ मा सिरियामा रुसी सैन्य हस्तक्षेपपछि दुवै देशले सैन्य समन्वय संयन्त्र स्थापना गरेका थिए।

इजरायलबाट उक्त विमान नोभेम्बर ९ मा संयुक्त अरब इमिरेट्सको आबुधाबी पुगेको थियो। त्यहाँ नोभेम्बर १० र ११ मा अमेरिका मध्यस्थतामा रुस–युक्रेन वार्ता हुने तयारी थियो। कोस्त्युकुभको टोली पनि वार्तामा सहभागी हुने द जेरुसेलम पोस्टले जनाएको छ। यद्यपि, इजरायल भ्रमण र उक्त वार्ताबीच प्रत्यक्ष सम्बन्ध रहेको आधिकारिक पुष्टि भएको छैन।

प्रकाशित मिति: २४ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com