काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अरागचीले इरानमाथि अमेरिका र इजरायलले गरेको सैन्य आक्रमणबाट भएको क्षतिको क्षतिपूर्ति अमेरिकाले दिनुपर्ने बताएका छन्।
जापानी समाचार संस्था क्योदोका लागि लेख लेख्दै अरागचीले अमेरिका र इजरायलको सैन्य कारबाहीलाई संयुक्त राष्ट्रसंघको बडापत्र तथा इरानको सार्वभौमसत्तामाथिको उल्लङ्घनको संज्ञा दिएका छन्।
उनले अमेरिकाले यस्ता आक्रमण तत्काल रोक्नुपर्ने, त्यसबाट भएको क्षतिको जिम्मेवारी लिनुपर्ने र भविष्यमा यस्ता घटना नदोहोरिने सुनिश्चित गर्नुपर्ने बताएका छन्।
अरागचीले संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ५१ उल्लेख गर्दै भविष्यमा हुन सक्ने सम्भावित खतरालाई आधार बनाएर कुनै पनि देशमाथि सैन्य आक्रमण गर्न नमिल्ने तर्क गरेका छन्।
उनले इरानका विद्यालय, खेलकुद रङ्गशाला, नागरिक पूर्वाधार तथा परमाणु केन्द्रलाई निशाना बनाइएको उल्लेख गर्दै ती घटनाको अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार पनि छानबिन हुनुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय कानुनअनुसार गैरकानुनी सैन्य कारबाही रोक्नु अमेरिकाको दायित्व भएको उनको भनाइ छ। साथै, इरानले यस्ता आक्रमणको प्रतिकारमा संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ५१ अन्तर्गत आत्मरक्षाको अधिकार प्रयोग गर्न पाउने अरागचीले बताएका छन्।
सम्भावित भविष्यका खतराको नाममा कुनै पनि देशलाई अर्को देशमाथि आक्रमण गर्ने छुट दिइए अन्तर्राष्ट्रिय कानुनी व्यवस्था र संयुक्त राष्ट्रसंघको बडापत्रप्रतिको विश्वसनीयता नै कमजोर हुने उनको चेतावनी छ।
प्रकाशित मिति: २८ कार्तिक २०८३, शनिबार












प्रतिक्रिया