काठमाडौं । नेपाल प्रहरीको वर्दीभित्र कतै संवेदनशील मन र सिर्जनशील आत्मा पनि लुकेको हुन्छ, जसले समाज, जीवन र अनुभूतिलाई शब्द तथा संगीतमार्फत अभिव्यक्त गर्ने गर्दछ। यस्तै एक उदाहरण हुन् नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कमल थापा। प्रहरी सेवाको व्यस्तता र चुनौतीपूर्ण जिम्मेवारीबीच पनि साहित्य तथा संगीतलाई आफ्नो सिर्जनात्मक संसार बनाउँदै आएका थापाका गीतहरू पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा देखिन थालेका छन्।
हालै सार्वजनिक भएको ‘पिरतीको मिठो धुन’ गीतले उनको सिर्जनात्मक यात्रालाई थप उचाइ दिएको छ। लोकप्रिय गायिका अञ्जु पन्त र गायक तथा संगीतकार ताराप्रकाश लिम्बूको स्वर रहेको उक्त गीतको भिडियोमा प्रदीप लामा र जुना सुन्दासको अभिनय रहेको छ। गीतको शब्द एसएसपी कमल थापाले लेखेका हुन् भने संगीत ताराप्रकाश लिम्बूले भरेका छन्।
‘पिरतीको मिठो धुन’ प्रेमभावमा आधारित नेपाली युगल गीत हो। गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी प्रदीप लामाले गरेका छन्। सार्वजनिक भएसँगै गीतले युट्युबमा दर्शकको ध्यान आकर्षित गरेको छ। प्रहरी सेवामा सक्रिय रहँदै सिर्जनालाई निरन्तरता दिनु थापाको विशेषता हो। उनको सिर्जनामा केवल प्रेम र रोमान्स मात्र नभई जीवनका आरोह-अवरोह, जन्मभूमिप्रतिको माया, प्रकृतिसँगको सम्बन्ध र समाजमा देखेका विविध अनुभूतिहरू समेटिएका छन्।
देश द्वन्द्वकालमा रहँदा सुदूर तथा मध्यपश्चिमका दुर्गम क्षेत्रमा लामो समय खटिएका थापाले त्यहाँ देखेको जीवन, भोगेका अनुभव र समाजसँगको सम्बन्धलाई आफ्ना गीतका विषयवस्तु बनाउँदै आएका छन्। देशका गाउँबेसीदेखि सहरसम्मका अनुभव र अनुभूतिहरू उनका सिर्जनामा प्रतिविम्बित हुने गरेका छन्।
‘हिऊँचुलिमा हिऊँ छैन’ र ‘सल्लेरी’ जस्ता गीतमा उनले ६० को दशकको परिवेश र उमेरसँगै विकसित भएका अनुभूतिहरूलाई शब्दमा उतारेका छन्। कागजमा लेखिएका अनुभव र अनुभूतिहरूलाई श्रव्य तथा दृश्य माध्यमबाट सार्वजनिक गर्ने प्रयास भने उनले पछिल्लो समय मात्र थालेका हुन्। उनका सिर्जनामा संगीतसँगै विशाल अनुभूतिहरू समेटिएका छन्। जन्मभूमिको सम्झना, प्रकृतिप्रतिको प्रेम र माटोसँगको गहिरो भावनात्मक सम्बन्ध उनका गीतका मूल विशेषता हुन्।
जन्मभूमि इलामप्रतिको प्रेम ‘पहाडकी रानी’मा
एसएसपी थापाको ‘पहाडकी रानी’ गीतमा जन्मभूमि इलामप्रतिको श्रद्धा र माटोको मायालाई अभिव्यक्त गरिएको छ। ताराप्रकाश लिम्बूको संगीत रहेको उक्त गीतको मेल भर्सनमा लोकप्रिय नेपाल आइडल विजेता करण परियारको स्वर रहेको छ भने फिमेल भोकलमा अनु चौधरीले साथ दिएकी छन्। गीतमा समेटिएको जन्मभूमिप्रतिको भावनालाई संगीत र स्वरले थप गहिरो बनाएको छ। इलामको प्राकृतिक सौन्दर्य र मातृभूमिप्रतिको आत्मीयतालाई गीतमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको छ।
जीवनको बहावलाई ठट्यौली शैलीमा ‘पछ्यौरी’
थापाको अर्को सिर्जना ‘पछ्यौरी’मा भने जीवनको समयचक्र र मानिसले थाहै नपाई जीवनको अन्तिम यात्रातर्फ अघि बढ्ने यथार्थलाई ठट्यौली शैलीमा प्रस्तुत गरिएको छ। समीर खरेलको कम्पोजिसन तथा स्वर रहेको उक्त गीतले जीवनका गम्भीर पक्षलाई सहज र मनोरञ्जनात्मक शैलीमा अभिव्यक्त गरेको छ।
ड्युटीका दृश्यदेखि गीतका शब्दसम्म
थापा आफ्ना सिर्जनाको प्रेरणाबारे भन्छन्, “भेटिएका हरेक मान्छेसँग केही कथा हुन्छन्, घुमेका हरेक ठाउँमा विशिष्ट शब्दहरू हुन्छन्। कहिलेकाहीँ ड्युटीको बीचमा देखिएको दृश्य नै गीतको प्रेरणा बन्छ, कहिलेकाहीँ कुनै पुरानो स्मृतिले शब्दहरू जन्माउँछ।”उनका अनुसार प्रहरी सेवाका क्रममा पुगेका विभिन्न स्थान, त्यहाँको समाज र मानिसहरूसँगको सम्बन्धले सिर्जनाका लागि प्रेरणा दिने गरेको छ।
आफ्ना रचनाहरू सार्वजनिक गर्न हतार नगर्ने उनी सेवाका क्रममा पुगेका ठाउँ र त्यहाँका समाजप्रति श्रद्धा व्यक्त गर्न तथा जीवनपर्यन्त ती अनुभवलाई स्मरण गर्न सिर्जना गर्ने गरेको बताउँछन्। आगामी दिनमा आफ्ना सिर्जनाहरू क्रमशः सार्वजनिक गर्दै जाने उनको योजना छ।
प्रहरी सेवाको जिम्मेवारी र सिर्जनात्मक यात्रालाई सँगसँगै अघि बढाइरहेका एसएसपी थापाका गीतहरूले एउटा फरक सन्देश दिएका छन्—व्यक्तिको पेशागत पहिचानभित्र पनि अनेक प्रतिभा, संवेदना र सिर्जनशीलता लुकेको हुन सक्छ। वर्दीभित्रको अनुशासन र मनभित्रको संगीतलाई सँगसँगै अघि बढाइरहेका थापा अहिले प्रहरी अधिकारी मात्र नभई अनुभूतिलाई गीतमा उतार्ने एक संवेदनशील सर्जकका रूपमा समेत चिनिन थालेका छन्।
प्रकाशित मिति: १ मंसिर २०८३, मंगलबार















प्रतिक्रिया