काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने तयारी गरेका छन् । उनले एक–दुई दिनभित्रै औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने बताएका छन् ।
अध्यक्ष पदमा प्रतिस्पर्धाको तयारी गरिरहेका शाहीले पार्टीको नेतृत्व अब युवापुस्ताले लिनुपर्ने आवश्यकता औँल्याएका छन् । युवाहरू नेतृत्वमा नआए पार्टीको भविष्य कमजोर हुने उल्लेख गर्दै उनले राप्रपामा रूपान्तरण र पुस्तान्तरण अपरिहार्य रहेको बताए ।
पछिल्लो निर्वाचनमा पार्टीले अपेक्षाअनुसार जनसमर्थन प्राप्त गर्न नसकेको प्रसंग उल्लेख गर्दै शाहीले सिद्धान्त, राजनीतिक एजेन्डा र व्यवहारबीच तालमेल मिलाएर पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखे । जनताको विश्वास जित्न सक्ने पार्टी निर्माण गर्नु अहिलेको मुख्य आवश्यकता भएको उनको भनाइ छ ।
उनले आफू पार्टीभित्र कुनै पनि गुट वा समूहमा आबद्ध नरहेको स्पष्ट पार्दै नेता तथा कार्यकर्तालाई गुट–उपगुटको राजनीतिबाट माथि उठ्न आग्रह गरेका छन् । पार्टीलाई बलियो बनाउन सबैले जनताको मन जित्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
अध्यक्षमा उम्मेदवारी दिने तयारीसँगै शाहीले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको सर्वोच्च नेता बनाउन प्रस्ताव गर्ने बताएका छन् । लिङ्देनले उक्त प्रस्ताव स्वीकार नगरे आफू अध्यक्ष पदमा उनीसँगै प्रतिस्पर्धा गर्न तयार रहेको शाहीको भनाइ छ ।
यद्यपि, वर्तमान अध्यक्ष लिङ्देन पनि आगामी महाधिवेशनमा पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिने तयारीमा छन् ।
प्रकाशित मिति: १ मंसिर २०८३, मंगलबार













प्रतिक्रिया