काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई लक्षित गर्दै सरकारले कूटनीतिक तथा प्रशासनिक तयारी तीव्र पारेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आगामी मंसिर ६ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाने कार्यक्रम रहेको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भ्रमणको आन्तरिक तयारी तीव्र गतिमा अघि बढिरहेको जानकारी दिएका छन्। भ्रमणका विषयमा विस्तृत विवरण मन्त्रालयले छिट्टै सार्वजनिक गर्ने उनले बताएका छन्।
भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने, पूर्वाधार विकास, व्यापार तथा पारवहन, पर्यटन प्रवर्द्धन र जनस्तरको सम्बन्ध विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
विशेषगरी हवाई, रेल तथा सडक सञ्जाल विस्तार र ऊर्जा पूर्वाधार विकासलाई भ्रमणका प्रमुख एजेन्डाका रूपमा अघि सारिएको छ। नेपाललाई थप हवाई प्रवेश बिन्दु उपलब्ध गराउने तथा दुई देशबीचको हवाई सम्पर्क विस्तार गर्ने विषयमा पनि छलफल हुने बताइएको छ।
रेलवे कनेक्टिभिटीअन्तर्गत जनकपुर–अयोध्या रेलसेवा सञ्चालन, जयनगर–जनकपुर रेलसेवालाई बर्दिबाससम्म विस्तार तथा प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको सम्भावनाबारे छलफल हुने अपेक्षा गरिएको छ। यसका अतिरिक्त सडक तथा पुल निर्माण, एकीकृत जाँच चौकी (आईसीपी) निर्माण र विद्युत् प्रसारण लाइन विस्तारका विषय पनि वार्ताको प्राथमिकतामा रहनेछन्।
त्यस्तै, नेपालमा भारतीय सहयोगमा सञ्चालित विकास आयोजनाहरूको प्रगति समीक्षा, निर्माणाधीन परियोजनालाई गति दिने तथा सम्पन्न आयोजनाको उद्घाटन र हस्तान्तरणबारे छलफल हुने जनाइएको छ। विपद्पछिको पुनर्निर्माणमा भारतीय सहयोग विस्तार र नयाँ विकास आयोजना अघि बढाउने विषयले पनि प्राथमिकता पाउने अपेक्षा छ।
भारतीय सहयोगमा निर्माण सम्पन्न भएका आयोजनामध्ये नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानजस्ता परियोजनाको उद्घाटन तथा हस्तान्तरणको विषय पनि सम्भावित एजेन्डामा समेटिएको छ।
भ्रमणका क्रममा पर्यटन प्रवर्द्धन, नागरिकस्तरको सम्बन्ध विस्तार र सीमापार भुक्तानी प्रणालीलाई सहज तथा प्रभावकारी बनाउने विषयमा समेत छलफल हुने सम्भावना छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीस्वरूप भारतीय विदेशसचिव विक्रम मिश्रीले गत कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमण गरेका थिए। उक्त अवसरमा उनले प्रधानमन्त्री शाहसहित विभिन्न मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
यसैबीच, भ्रमणको पूर्वतयारीका क्रममा दुवै देशले रिक्त रहेका राजदूत पदमा नियुक्ति गरिसकेका छन्। नवनियुक्त राजदूतहरूले पनि आ–आफ्नो तहबाट भ्रमणको तयारी अघि बढाएको सम्बन्धित दूतावासले जनाएका छन्।
प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहले गत असोज ६ गते संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन पहिलो विदेश भ्रमण गरेका थिए। आसन्न भारत भ्रमण भने प्रधानमन्त्रीका रूपमा उनको छिमेकी मुलुकतर्फको पहिलो औपचारिक भ्रमण हुनेछ।
प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार













प्रतिक्रिया