काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका आन्तरिक विषय र असन्तुष्टि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिएका छन्।
पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनबाट भएका निर्णयलाई सबैले स्वीकार गरेर अघि बढ्नुपर्ने बताए। महाधिवेशनमा आफ्नो मत राख्ने र निर्णयविरुद्ध मतदान गर्ने अवसर हुँदाहुँदै त्यसपछि पनि एउटै विषयलाई लिएर निरन्तर असन्तुष्टि पोख्नु उचित नहुने उनको भनाइ थियो।
‘महाधिवेशनमा हामी सबै सहभागी थियौँ। केही साथीले चित्त नबुझेर विपक्षमा मतदान गर्नुभएको होइन र ? अब महाधिवेशनको निर्णय स्वीकार गरेर अर्को महाधिवेशनसम्म पर्खिनुपर्दैन ? बीचमा जहिल्यै त्यही कुरा दोहोर्याएर विरोध गरिरहने ?’ ओलीले प्रश्न गरे।
उनले पार्टीभित्रका विषयमा असहमति राख्न र आफ्ना धारणा प्रस्तुत गर्न कमिटीका बैठकहरू खुला रहेको स्पष्ट पारे। कमिटीमा आफ्ना कुरा राख्न नपाएको भन्दै गरिने गुनासो निराधार भएको उनको दाबी थियो।
पार्टीभित्र छलफल हुनुपर्ने विषय सामाजिक सञ्जालमा लेखेर सार्वजनिक गर्नु अनुशासनविपरीत भएको उल्लेख गर्दै ओलीले यस्ता गतिविधिले पार्टीका विरोधीलाई फाइदा पुग्ने बताए।
ओलीले यसअघि बसेको केन्द्रीय कमिटी बैठकलाई अनुशासनका विषयमा एउटा सीमारेखा निर्धारण गर्ने बैठकका रूपमा व्याख्या गरे। उक्त बैठकअघि सामाजिक सञ्जालमा पार्टीविरुद्ध अभिव्यक्ति दिने तथा अनुशासन उल्लङ्घन गर्ने गतिविधिलाई माफी दिइएको उनको भनाइ थियो।
तर, केन्द्रीय कमिटी बैठकको मितिपछि पनि त्यस्ता गतिविधि दोहोर्याए सह्य नहुने उनले स्पष्ट पारे।
‘अस्तिको केन्द्रीय कमिटी बैठकलाई हामीले कटअफ बैठक भनेका छौँ। त्यसअघि कसैले अनुशासनहीन काम गरेको भए पनि, सामाजिक सञ्जालमा लेखेको भए पनि, फेसबुक रङ्गाएको भए पनि ती कुरालाई क्षमा गरिएको छ। तर अब त्यही कुरा दोहोरिए स्वीकार्य हुँदैन,’ ओलीले चेतावनी दिए।
यसैबीच, आफूलाई पक्राउ गर्ने तयारी भइरहेका बेला एमालेकै एक नेताले आफू पक्राउ पर्दा पार्टी सडकमा नउत्रिने आशयको अभिव्यक्ति दिएको भन्दै ओलीले असन्तुष्टि जनाए।
उनले उक्त अभिव्यक्तिले सरकारलाई आफूविरुद्ध कदम चाल्न थप हौसला मिलेको संकेत गर्दै पार्टीका नेता तथा कार्यकर्ताको भूमिकामाथि प्रश्न उठाए।
‘के भनेको त्यो एमाले हुँ भन्ने मान्छेले? आफू नउत्रिए पनि ठिकै छ, तर कार्यकर्ता पनि सडकमा उत्रिँदैनन् भन्ने ? कार्यकर्ता त उत्रिए भने देशैभरि उत्रिन्छन्,’ ओलीले भने।
आफूलाई पक्राउ गर्ने विषयमा सरकारसमेत हच्किरहेको अवस्थामा पार्टीकै नेताबाट त्यस्तो अभिव्यक्ति आउनु सरकारलाई ढाडस दिनुजस्तै भएको उनको टिप्पणी थियो।
प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार













प्रतिक्रिया