काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टीमा पुस्तान्तरण र वैचारिक रूपान्तरण हुन नसके आगामी निर्वाचनमा गम्भीर राजनीतिक क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन्। उनले पार्टीको आगामी नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शाहीले राप्रपाको नेतृत्व समयअनुकूल परिवर्तन हुन नसके पार्टीको राजनीतिक अस्तित्व र प्रभाव कमजोर बन्ने बताएका हुन्। पुस्तान्तरण गर्न नसके आगामी निर्वाचनमा ठूला दलका नेताहरूसँग केही सिटका लागि चुनावी सौदाबाजी गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो।

‘हामीले पुस्तान्तरण गर्न सकेनौँ भने जनतामा जाँदा एमाले, कांग्रेस र माओवादीका नेताको घरमा गएर एक–दुई सिट मिलाउनुपर्ने अवस्था आउन सक्छ,’ उनले भने।

शाहीले विगतमा विचार र सिद्धान्त नमिल्ने दलहरूसँग चुनावी गठबन्धन गर्ने तथा सत्ता समीकरणमा सहभागी हुने प्रवृत्तिले राप्रपालाई कमजोर बनाएको आरोप लगाए। सीमित सिट प्राप्त गर्ने उद्देश्यले पार्टीको मूल विचार र सिद्धान्तसँग सम्झौता गर्ने राजनीतिक अभ्यास अब अन्त्य हुनुपर्ने उनले बताए।

राप्रपालाई अन्य दलको चुनावी रणनीतिको साधन वा सत्ता प्राप्तिको भर्‍याङ बन्न नदिई आफ्नै वैचारिक आधार र राजनीतिक पहिचानका साथ अघि बढाउनुपर्नेमा उनले जोड दिए। आगामी महाधिवेशनलाई नेतृत्व चयनको औपचारिक प्रक्रियामा मात्र सीमित नराखी पार्टीको वैचारिक पुनर्जागरण र संगठनात्मक पुनर्संरचनाको अवसरका रूपमा उपयोग गर्नुपर्ने उनको धारणा छ।

उनले पार्टीका अग्रज नेताहरूको योगदान र अनुभवलाई सम्मान गर्दै नेतृत्व नयाँ पुस्तालाई सुम्पिनुपर्ने प्रस्ताव अघि सारे। वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूलाई अभिभावकीय भूमिकामा राखेर युवालाई नेतृत्वको जिम्मेवारी दिनुपर्ने उनले बताए।

‘पुस्तान्तरण भनेको अग्रजको अपमान होइन । अग्रजको सम्मान गर्दै उहाँहरूको अनुभवलाई शिरमा राखेर युवालाई नेतृत्व हस्तान्तरण गर्ने अभियान हो,’ शाहीले भने।

पार्टीभित्र मौलाउँदै गएको गुट–उपगुटको राजनीति अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले युवा कार्यकर्तालाई महाधिवेशन प्रतिनिधि बनेर नेतृत्व चयनको प्रक्रियामा सक्रिय सहभागी हुन आह्वान गरे।

राप्रपाले आगामी मंसिर २६, २७ र २८ गते केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com